धरान: मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल चरणका खेलहरु आज शुक्रबारदेखि धरानमा शुरु भएको छ ।

विपी प्रतिष्ठान धरानको १ नं खेल मैदानमा भएको उद्घाटन खेलमा सुनसरी लिग च्याम्पियन धरान फुटबल क्लब विजयी भएको छ । समुह क अन्र्तगतको खेलमा धनकुटाको बौद्धिक विकास समाज समितिलाई ३–२ गोलअन्तरले हराउदै धरानले महत्वपुर्ण ३ अंक बटुलेको छ । धरानको जितको लागि पहिलो हाफको २० मिनेटमा विनोद राईले गोल गरेका थिए भने दोस्रो हाफको ८९ मिनेटमा दोर्जे तामाङ र इञ्जुरी समयमा विनोद राईले गोल गरेका थिए । धनकुटाको लागि दोस्रो हाफको ६१ आंै मिनेटमा रेवतराम भण्डारी र इञ्जुरी समयमा विरेन लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच धरानका उमेश राई घोषित भए । दोस्रो खेल समुह ख अन्र्तगत सैनिक युथ क्लब झापा र बाक्सिला फुटबल क्लब खोटाङबीच भइरहेको छ ।

IMG_9643
फाइनल चरणका खेलहरुमा प्रदेशको ३ क्षेत्रबाट २ वटा टिमको दरले ६ वटा टिम सहभागी छ । ती टिमलाई क र ख गरी २ समुहमा विभाजन गरिएको छ । आयोजकका अनुसार समुह क मा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा र बेलबारी फुटबल क्लब मोरङ परेको छ भने समुह ख मा सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल खोटाङ र रेड हर्ष फुटबल क्लब इलाम परेको छ । दुवै समुहको विजेताले फाइनल खेल्नेछ । लिग विजेताले नगद ५ लाख र ४ केजी चाँदीको च्याम्पियन ट्रफी पाउनेछ भने उपविजेताले ३ लाख हात पार्नेछ । यस्तै, लिग विजेताले प्रेसिडेन्ट कप खेल्ने अवसर पनि पाउनेछ ।

IMG_9672