इटहरी : केही दिनअगाडिदेखिको लगातार बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढेको बढ्यै छ ।

शनिबार बिहान ८ बजेको मापनअनुसार कोशी व्यारेजमा पानीको बहाब २ लाख २८ हजार २ सय क्युसेक पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक सिडिओ चिरञ्जीवि गिरीले जानकारी दिए । उनका अनुसार आँफूहरुले अहिले पनि सप्तकोशीको अनुगमन गरिरहेको र ३० वटा ढोका खुल्ला गरिएको जानकारी दिए ।

उनले भने, ‘कोशीका ५६ वटा ढोकामध्ये अहिलेसम्म ३० वटा ढोका खुल्ला गरिएको छ, त्यस्तो आत्तिनुपर्ने अवस्था नरहेपनि कोशी नजिकका बस्तीमा समस्या छ ।’ उनका अनुसार कोशी नजिकैका बस्तीका होचा घरहरुमा समस्या रहेको बताउँदै ठूलो मानवीय क्षती नरहेको जानकारी दिए । ‘यहाँ ठूलो भयावह मानवीय क्षती भएको छैन,’ उनले भने, ‘होचा घरहरुमा भने पानीले डुबाएका कारण छिमेकीको सहारामा बस्नु परेको छ ।’