झापा : झापाको भद्रपुरस्थित नबनिर्मित मेची पुललाई जोड्ने सडक बगाएपछि आवतजावतमा समस्या भएको छ ।

भारततर्फ बनाईएको अस्थायी ग्राभेल सडक बर्षासँगै आएको बाढीले बगाएको हो । मेचीको बाढीले एसएसबीले दशगजा नजिकै राखिएको अस्थायी पोस्ट समेत डुबाएको छ । मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा स्थानीयको सुविधाका लागि किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोड्न एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर ग्राभेल सडक निर्माण गरेको थियो । भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोडन भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर सय मिटर सडक निर्माण गरिदिए ।

९ बर्षमा पुल बन्यो, बाटो बनेन

५६० मिटर लम्बाई र ९ दशमलब ८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गरेका थिए । सडक निकास विनाको पुलको उद्घाटन भए पनि हलुका चार चक्के सवारी, मोटरसाइकल, साइकल र पैदलयात्रीले मात्र पुलबाट आवतजावत गरिरहेका थिए । अहिलेसम्म यो पुललाई पूर्ण रुपमा संचालनमा ल्याउन सकिएको छैन ।

Jungepiller