धरान(डेस्क) : प्रदेश १ मा अबिरल बर्षाको कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । केही दिनदेखि निरन्तर परेको बर्षाले विभिन्न जिल्लामा १४ जनाको ज्यान गएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार आज शनिबार ४ जनाको ज्यान गुमेपछि मृतकको संख्या १४ पुगेको हो । हालसम्म यस प्रदेश अन्तरगत मृत्यु हुनेको संख्या खोटाङमा ३ जना, झापामा २, ओलढुंगामा ३, भोजपुरमा ४ जनाले ज्यान गुमाएका छन् भने ईलाममा १ र सुनसरीमा १ जनाको मृत्यु भइसकेको प्रदेश प्रहरीले जनाएको छ ।

भोजपुरमा २६ गते रामप्रसाद राई गाउँपालिकामा ७ बस्ने ६६ बर्षका जगत बहादुर राईको घरले किचेर मृत्यु भएको थियो भने २७ गते भोजपुर कै ट्याम्केमयुम गाउपालिक ९ का १४ बर्षीय जनक बिकको ट्वाईलेटले किचेर मृत्यु भएको थियो । यसैगरी भोजपुर रामप्रसाद राई गाँउपालिका ५ की ३५ बर्षिया मनकुमारी राईको पनि पुरिएर मृत्यु भएको छ । आज शनिबार बिहान आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएकी राईको खोजतलास गर्ने क्रममा दिउँसो ४ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस्तै, ओखलढुङगा २७ गते चिसुङखुगडी गापा ४ बस्ने बर्ष ८५ की पासाङ पुटी सेर्पा खोलाले बगाएर मृत्यु भएको थियो । यस्तै, लुङ गाउँपालिका ७ पात्ले बस्ने ४० बर्षीया खपुटि शेर्पार निजको छोरी १२ बर्षीया याङजि शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ । आज बिहान ११ बजे घर माथिबाट पहिरो खसि पुरिएर बेपत्ता भएका दुबै जनाको खोजतलासका क्रममा अपरान्ह २ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

झापामा २७ गते दमक नगरपालिका १० की ६ बर्षीय ऐलिजा न्यौपाने खोलाले बगाई मृत्यु भएको थियो । यस्तै, आज झापा शिवसताक्षी नगरपालिका ५ सालमारामा रहेको बनियानी खोलाले बगाउदा ९ बर्षीय सौगात चापागाईको मृत्यु भएको छ । आज अपरान्ह २ बजेर १० बजे सौगात आफ्नै फुपुको छोरी समिक्षा पौडेलसँग खोला छेउमा खेल्ने क्रममा चिप्लिएर खोलामा लड्दा सोही खोलाले बगाउदा खोजतलासका क्रममा सौगातको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ईलामको २७ गते चुलाचुली १ बस्ने बर्ष ५० को अंचल लावती खोलाले बगाई मृत्यु भएको छ । यस्तै, खोटाङ २७ खोटेहयाङ गाउपालिका २ बस्ने बर्ष २८ कि रेखा राई निजको छोराहरु बर्ष ४ को रोमन राई र ७ महिनाको रोहन राई घरले किचेर मृत्यु भएको थियो । सुनसरीमा आज उदयपुर घर भई ईटहरी ५ सुनसरी बस्ने बर्ष ३५ को सागर थापाको खोलाले बगाई मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ जना वेपत्ता

प्रदेश १ मा अविरल बर्षाले ४ जना वेपत्ता भएका छन् । असार २६ गते बराहक्षेत्र १ बस्ने बर्ष १० को अर्पन राई खोलाले बगाई बेपत्ता भएका छन् भने पाँचथरमा २७ गते मिक्लाजुङ गाउँपालिका ४ बस्ने बर्ष ९ को दिवन राई खोलाले बगाई बेपत्ता बनाएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै, मोरङमा २६ गते कानेपोखरी गापा २ का नामथर वतन नखुलेको एक युवाको पनि खोलाले बगाई बेपत्ता भएका छन् भने भद्रपुर नगरपालिका ९ का ४५ बर्षीय सफल हज्दा खोलाले बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।