धरान:डेंगु पोजेटिभ देखिएकी एक महिलाको धरानमा उपचारको क्रममा निधन भएको छ ।

धरान १५ की करिब ४० वर्षीय मनु सुनुवारको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार साँझ ७ बजेतिर निधन भएको हो । गम्भीर अवस्थामा प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारार्थ भर्ना भएकी सुनुवारलाई डेंगु पोजेटिभ देखिए पनि मृत्युको कारण भने प्रष्ट नभएको चिकित्सकहरुले बताएका छन् । तर, मृतक सुनुवारलाई डेंगु पोजेटिभ भएकोमा भने अस्पताल प्रशासनले स्वीकार गरेको छ । उनको अवस्था बिग्रदै गएकोले आइसियु चाहिने भएपछि आकस्मिक कक्षबाट उनलाई आइसियुमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा नै उनको निधन भएको हो ।

सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार मृतकलाई डेंगु भएको पुष्टि भए पनि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा आउदा नै ज्यादै सिरियस अवस्थामा थिइन् । त्यहाँ उपचार गर्दा पनि अवस्था झन् विग्रदै गएपछि आइसियु लगिएको थियो । 'डेंगु पोजेटिभ देखिएको हो, तर त्यही कारणले मृत्यु भएको हो भन्न सकिन्छ । अरु पनि कारणहरु हुनसक्छ,'उनले भने,'प्लेटलेटको अवस्था पनि सामान्य थियो, त्यसैले डेंगुले नै निधन भएको हो वा अन्य कारण थियो, थप बुझ्नै पर्छ ।'

चिकित्सकहरुका अनुसार डेंगु भएका व्यक्तिको प्लेटलेट कम्तीमा डेढ लाखदेखि ३ लाखसम्म हुनुपर्छ । मृतक सुनुवारको प्लेटलेट १ लाख ७५ हजार देखिएको थियो । त्यसैले उनलाई डेंगुबाट त्यस्तो खतरा पनि थिएन । आकस्मिक कक्षका इञ्चार्ज डा. ज्ञानेन्द्र मल्लले पनि डेंगु भएकी महिलाको मृत्यु भएको भन्ने सुनेपनि मृत्युको खास कारण के हो भनेर पत्ता लगाउन समय लाग्ने बताए । 'मैले पनि त्यो खबर सुने, तर डेंगुकै कारण मृत्यु भएको हो वा अन्य पनि कारण हो, त्यो थप बुझ्नुपर्छ,'उनले भने, 'आइतबार यो बिषयमा थाह हुन्छ ।'

धरान करिब २ महिनादेखि डेंगु रोगबाट आक्रान्त छ । डेंगु नियन्त्रण बाहिर गएपछि सरकारले नै धरानलाई डेंगु प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको थियो । बिशेष गरी धरानमा वडा नं १५ र ८ डेंगुको प्रकोपमा थियो । प्रदेश, स्थानीय सरकार र स्वाथ्य कार्यालयले पनि फगिङ र लार्भा नष्ट गर्ने अभियान चलाए पनि नियन्त्रणमा आएको छैन ।