ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पाँचथर युवती हत्या प्रकरणः पक्राउ परेका लाओतीलाई बाल सुधार गृहमा पठाउन आदेश” शीर्षकको समाचार छापिएको छ ।

हिलिहाङ गाउँपालिका–६ सिते जङगलमा भएको सुजाता तामाङको हत्या आरोपमा पक्राउ परेका घनेन्द्र लाओतीलाई बाल सुधार गृहमा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ । गएको असार ३ गते इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी सुजाता तामाङको घाँटी रेटी हत्या भएको थियो । हत्या गरेको आरोपमा पक्राउ परेका हिलिहाङ–६ का घनेन्द्र लाओती नाबालक भएको भन्दै पाँचथर जिल्ला अदालतले बाल सुधार केन्द्रमा पठाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश मनोज केसीको इजलासले हत्या आरोपित लाओतीको जन्म दर्ता लगायतका प्रमाणले उनी बालक भएको ठहर गर्दै बाल सुधार गृहमा पठाउन आदेश दिएको हो । २१ वर्षीय तामाङको हत्या गरेर लाओतीले उनको साथबाट ८१ हजार ७ सय रुपैँया नगद समेत लुटेको र पैसा लुट्नकै लागि हत्या गरेको बयान दिएका थिए । लाओतीको उमेर १९ वर्ष भन्दै सर्वस्वसहित जन्म कैदको माग गर्दै जिल्ला अदालत पाँचथरमा अभियोग पत्र दर्ता गराइएको थियो । अदालतमा लिइएको बयानका क्रममा उनले आफू १७ वर्ष मात्रै पुगेको बताएपछि जन्मदर्ता र उनले अध्ययन गरेको विद्यालयको प्रमाण जुटाएर हेर्दा १७ वर्ष ७ महिना मात्रै उमेर देखिएको अदालतले जनाएको छ ।

बालबालिकासम्बन्धी ऐनको दफा नम्बर २४ अनुसार उनलाई सुधार गृह पठाउने आदेश जारी गरेको अदालतले जनाएको छ । इलाम घर भएकी तामाङ पाँचथरको हिलिहाङ–३ गोपेटार बजारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत थिइन् । असार ३ गते स्थानीय थलाचुङ र रातमाटेमा फाइनान्सले गठन गरेको समूहको मासिक बैठकबाट ब्याज संकलन गरेर कार्यालय फर्कँदै गर्दा तामाङको हत्या भएको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रदेश प्रमुखद्वारा सहयोगको आग्रह” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं. १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अबिरल वर्षा र त्यसले क्षति पुर्याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख प्राडा तुम्बाहाङले बाढी र पहिरोमा परी ज्यान गुमाएका परिवारजनमा समवेदना व्यक्त गर्दै वेपत्ता भएका र घरबारविहीन परिवारको उद्दारका लागि मानवीय संवेदनशीलता देखाएर सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छन् । वर्षायाममा प्रदेश नं. १ बाढी, पहिरोको उच्च जोखिममा परेको बताउँदै उनले विज्ञप्तिमा पीडित परिवारको उद्दारका साथै उनीहरुलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउने मानवीय कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मृतकका परिवारलाई १ लाख रुपैयाँ तत्काल राहत दिइने” शीर्षकको समाचार छापिएको छ । लगातारको वर्षापछि आएको बाढीपहिरोबाट मृत्यु भएको व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले १ लाख रुपैयाँ तत्काल राहत दिइने भएको छ ।

त्यस्तै, घाइतेहरुको निःशुल्क उपचार गर्ने तथा विस्थापितहरुलाई तत्काल राहत पुर्याउन स्थानीय सरकारलाई निर्देशन गरिसकिएको बताइएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकहादुर कार्कीका अनुसार आइतबार बसेको मन्त्रिपषिदको बैठकले राहत वितरणसम्बन्धी निर्णय गरेको हो ।