धरान(डेस्क): धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार–रवि सडक खण्डमा ठाउँ ठाउँमा पहिरोले विजुलीको पोल ढलेको छ ।

लगातारको बर्षाले पहिरो जादा विजुली र टेलिकमको पोल ढलेको हो । शनिबार नै पोल ढलेर भेडेटार क्षेत्रमा विजुली अवरुद्ध भएको थियो । तर, मर्मत भएर केहीबेर अघिदेखि भेडेटार बजार क्षेत्रमा विजुली आइसकेको छ । तर, अझै पनि डाँडाबजार क्षेत्रमा भने समस्या भइरहेको गाउँपालिका अध्यक्ष कुमारजंग याक्खाले जानकारी दिए । ‘डाँडाबजार आसपासमा पोलहरु ढलीरहेको छ, विजुली आएको छैन,’ डाँडाबजार निवासबाट अध्यक्ष याक्खाले भने,‘भेडेटारबाट डाँडाबजारसम्मको १३ किलोमिटर सडक खण्डमा धेरै नै समस्या छ । फोन सम्पर्क पनि भइरहेको छैन ।’

साँगुरीगढीकै वडा नं ६ मा पर्ने मझुवा गाउँ पहिरोको चपेटामा परेकोछ । यो गाउँमा बर्षेनी पहिरो जान्छ । यसबर्ष पनि लगातार परेको बर्षाले गाउँ खतरामा परेको गाउँपालिका अध्यक्ष याक्खाले बताए । ‘मुक्तेन जाने बाटो पनि अवरुद्ध छ, गाउँलाई समस्या छ,’याक्खाले भने, म कार्यालयबाट स्थलगतरुपमा जाने तयारीमा छु । यस्तै, भेडेटारबाट पाथीभारा मन्दिर जाने बाटोमा पर्ने चाल्र्स पोइन्ट चढ्ने मुलगेट छेउ पटिको भाग झरेर हिजो शनिबार विजुली र टेलिकमको पोल खसेको थियो । जसले गर्दा हिजो भेडेटार बजार क्षेत्रमा विजुली अवरुद्ध थियो ।

तस्बिर क्याप्सन: चाल्र्स पोइन्ट नजिकै पहिरो खसेर क्षति पुगेको विजुली र टेलिकमको पोल ।

तस्बिर स्रोत: लिलाराज लावती