धरान: मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल चरणबाट धरान फुटबल क्लब, सुनसरी बाहिरिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी फुटबल क्लबसँग २–१ ले स्तब्ध हुदै धरान प्रतियोगिताबाट बाहिरियो भने बेलबारी समुह ‘क’को विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्यो । बेलबारीले कुल ६ अंकसहित समुह बिजेता बन्यो ।

बेलबारीको लागि पहिलो हाफको ४४ औं मिनेटमा मौषम सुब्बाले गोल गरेका थिए भने दोस्रो हाफको इञ्जुरी समयमा एनस मगरले गोल गरेका थिए । धरानको लागि ४८ औं मिनेटमा हिसुप थपलियाले एक गोल गरेपनि हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दि म्याच घोषित हुदै बेलबारीका सौरभ कार्कीले नगद ५ हजार र ट्रफी हात पारे ।

football1

यस्तै, दोस्रो खेलमा इलामको रेडहर्ष क्लबलाई ३–१ गोलअन्तरले हराउदै सैनिक युथ क्लब फाइनल प्रवेश गरेको छ । समुह बिको विजेता बन्दै फाइनल पुगेको झापाले मंगलबार उपाधिको लागि फाइनलमा मोरङको बेलबारी फुटबल क्लबको सामाना गर्नेछ । झापाको लागि पहिलो हाफको १८ औं मिनेटमा मिलन राई, ३० औं मिनेटमा अभिषेक गुरुङ र दोस्रो हाफको ८२ औं मिनेटमा रेजिन माझीले गोल गरेका थिए । इलामको लागि पहिलो हाफको इञ्जुरी समयमा दर्शन गुरुङले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच झापाका अभिषेक गुरुङ घोषित हुदै नगद ५ हजार र ट्रफि हात पारे ।

IMG_9747

समुह क को विजेता मोरङको बेलबारी र समुह खको विजेता झापाको सैनिक युथ क्लबबीच मंगलबार धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा फाइनल खेल हुनेछ । फाइनल खेलको विजेता प्रदेश लिग च्याम्पियन हुदै नगद ५ लाख र ४ केजीको चाँदीको ट्रफी उचाल्नेछ भने दोस्रो हुने टिमले नगद ३ लाख हात पार्नेछ । साथै, च्याम्पियन टोली प्रेसिडेन्ट कप पनि खेल्ने अवसर पाउनेछ । प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिगमा अवसर पाउने आयोजक एन्फाले जनाएको छ ।

img-2