धरान: प्रदेश नं १ सरकारले अबिरल बर्षाको कारण आएको बाढी, पहिरो र डुवानमा परेर मृत्यु भएका परिवारलाई राहत स्वरुप २ लाख रुपैया दिने भएको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले मृतक परिवारलाई सहयोगको स्वरुप प्रति मृतक व्यक्ति २ लाख राहत उपलब्ध गराउन निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा काननु मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । उनका अनुसार बैठकले धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी तथा पहिरोबाट घाइते भएकाहरूलाई सरकारी अस्पतालहरुमा उपचार गराएको सम्पुर्ण खर्च व्यहोर्ने पनि निर्णय गरेको छ । 'घाइतेको निजी अस्पतालमा उपचार गरे बापत पनि बढीमा ५० हजार बिल सरकारले भुक्तानी गर्नेछ,'मन्त्री कार्कीले भने,'उद्दार, राहत, पुर्नस्थापना र बेपत्ताको खोजिको निम्ति सबै पक्ष सङ्ग अपिल गर्ने पनि निर्णय भएको छ ।'

केही दिनदेखि अबिरल बर्षाको कारण आएको बाढी, पहिरोले प्रदेश १ मा ठुलो धनजनको क्षति भइसकेको छ । आइतबार साँझसम्म प्रदेश १ मा मात्र मृत्यु हुनेको संख्या १९ जना पुगिसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, वेपत्ता हुनेहरुको संख्या पनि २ दर्जन पुगेको छ । प्रदेश प्रहरीका अनुसार हालसम्म भोजपुरमा ५, खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, ईलाममा १, सुनसरीमा १, उदयपुरमा २ र पाँचथरमा १ जनाले ज्यान गुमाइसकेका छन् ।