ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बलात्कारको ग्राफ बढ्दै” शीर्षकको समाचार छापिएको छ । असार २ गते इटहरीको बसपार्क क्षेत्रमा ६ वर्षीया बालिका बलात्कृत भइन् । पछिल्लो समय बलात्कारको घटना बढिरहेको बेला बालबालिकाहरु समेत बलात्कारको शिकार हुन पुगेका छन् । यो प्रतिनिधि घटना मात्र हो । देशभर बलात्कारको ग्राफ बढिरहेका बेला प्रदेश १ को अवस्था उस्तै छ । दैखिकजसो बलात्कारका घटना हुने गरेका छन् । प्रहरीमा पर्ने उजुरीलाई आधार मान्ने हो भने प्रदेश १ मा बलात्कारको ग्राफ उकालिदो छ ।प्रदेश १ मा झापा र सुनसरीमा बलात्कारको घटना अधिक भएको प्रदेश १ प्रहरीको तथ्याङ्कले देखाउँछ । सबैभन्दा बढी झापामा चालु आर्थिक वर्षको जेठ सम्ममा १ सय २१ ज्ना महिला बलात्कृत भएका छन् । त्यो सँगै ३६ जनालाई बलात्कारको प्रयास भएको छ । बलात्कारको घटना सुनसरीमा पनि बढ्दो छ । चालू आर्थिक वर्षको जेठसम्म १ सय जना महिला बलात्कारको शिकार भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहालले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको अहिले सम्म प्रदेश १ को जिल्लामा ५ सय ४ जना महिला बलात्कृत भएका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “तत्काल राहत र क्षतिपूर्ति देऊ” शीर्षकको समाचार छापिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्नेसांसदहरुले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल उद्दार कार्य अघि बढाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्दै उनीहरुले विस्थापित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पहाडमा पहिरो र तराईमा बाढिका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको जानकारी दिदै विपद् व्यवस्थापनमा प्रदेश सरकारले प्रभावकारी काम नगरेको आरोप लगाए । उनले विपद व्यवस्थापनका सरकारले न्यून बजेट विनियोजन गरेर मुख्यमन्त्री केन्द्रित योजनालाई मात्रै प्राथमिकता दिएको बताए । सरकारले प्रभावित र पीडित परिवारलाई सान्त्वना समेत नदिएको भन्दै तुरुन्तै राहत घोषणा माग गरे ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कानुनविपरीत जनता माविको जग्गामा भवन निर्माण” शीर्षकको समाचार छापिएको छ । इटहरीको जनता माध्यमिक विद्यालयको जग्गामा कानुनविपरीत भवन निर्माण भएको छ । इटहरी ९ मा रहेको २ कट्ठा १० धर जग्गामा व्यापारिक भवन निर्माण हुन थालेको हो । जनता माविका प्रध्यानाध्यापक छत्रपति ढुङ्गेलका अनुसार १५ वर्षको लागि मासिक १ लाख ७ हजार रुपैयाँ भाडा लिने सहमतिहित भवन निर्माण भइरहेको छ । सनमुन प्लाजाको लगानी र विद्यालय व्यवस्थापन समितिको निगरानीमा भवन निर्माण भइरहेको उनको भनाइ छ । भवन २ तलाको बन्ने सहमति भएको छ । विद्यालयको आन्तरिक आम्दानी वृद्धि गर्न भन्दै निर्माण थालिएको भवन कानुनविपरीत रहेको पाइएको छ । भवन निर्माण पूर्व गर्नुपर्ने नक्सापासको काम पनि नसकी भवन निर्माण थालिएको हो । इटहरी उपममहानगरपालिकाको घरनक्सा शाखाका इञ्जिनियर विकास भट्टराईका अनुसार उक्त भवनको अझैसम्म नक्सापास भएको छैन ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पोल बगाउँदा खोटाङ र ओखलढुंगामा विधुत् अवरुद्ध” शीर्षकको समाचार छापिएको छ । भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुंगामा विधुत् सेवा अवरुद्ध भएको छ । लगातारको वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विधुत्को पोल बगाउँदा गएरातिदेखि २ जिल्लामा विधुत अवरुद्ध भएको हो । विधुत् अवरुद्ध हुँदा खोटाङको २ नगरापलिका र आठ गाउँपालिका तथा ओखलढुंगाको एक नगरपाििलका र सात गाउँपालिकाका हजारौं अपभोक्ता मारमा परेका छन् ।