काठमाडौं : न्यूजिल्याण्डलाई सुपर ओभरपछि पराजित गर्दै आयोजक इङ्ल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा गएराति भएको फाइनलमा घरेलु टोली इङल्याण्डले रोमान्चक जित निकाल्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो । खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन बनाएपछि खेल बराबरी भयो । यसपछि खेल सुपर ओभरमा पुग्यो ।

सुपर ओभरमा पनि खेलले नाटकीय रुप लियो । इङ्ल्याण्डका बेन स्टोक्स र जोस बट्लरको जोडीले सुपर ओभरमा १५ रन जोड्दै न्यूजिल्याण्डलाई १६ रनको लक्ष्य दियो । जवाफमा न्यूजिल्याण्डका जिमी निशम र मार्टिन गुप्टीलले पनि १५ रन नै बनाए ।

सुपर ओभरमा समान स्कोर भएपछि खेल अवधिभर बढी बाउन्ड्री अर्थात छक्का र चौका प्रहार गरेको आधारमा इङ्ल्याण्ड विश्वविजेता बन्यो । खेलमा इङ्ल्याण्डले २४ बाउन्ड्री प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १६ बाउन्ड्री प्रहार गरेको थियो । जितसँगै इङ्ल्याण्डले विश्वकप क्रिकेटमा नयाँ च्याम्पियनको रुपमा इतिहास बनाउँदा न्यूजिल्याण्ड अर्को एउटा फाइनल खेलमा पराजित भएको छ ।

एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेल सुपर ओभरमा पुगेको यो पहिलो पटक हो ।