धरान: खाद्य पदार्थको उत्पादनसंगै लेबलको प्रयोगबारे धरानका खाद्य व्यवसायीहरुलाई अभिभुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह आयोजनामा खाद्य पदार्थको लेबलिङ्ग सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा खाद्य पदार्थको उत्पादनमा कस्तो प्रकारको लेबल प्रयोग गर्ने र लेबलमा के–के कुरा उल्लेख गर्ने भनेर अभिमुखीकरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

खाद्य उत्पादन गुणस्तरीय बनाउन तथा उपभोक्ताको स्वास्थ्यप्रति सजगता गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । धरानमा विभिन्न लघु तथा घरेलु उद्योगहरु सञ्चालनमा छन् । धरानमा रहेको अचार, सुकुटी, चाउमिन, पाउरोटी, आलुको चिप्स, दुग्ध व्यवसायी लगायत विभिन्न खाद्य व्यवसायीहरु गरि करिब ६५ जना अभिमुखीकरणमा सहभागी रहेका थिए ।

IMG_20190715_120420

सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ सभापति रहेका थिए भने खाद्य गुण तथा नियन्त्रण कार्यालय प्रदेश नं १ का वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइराला प्रमुख अतिथि रहेका थिए । अभिमुखीकरण कार्यक्रमको स्रोत व्यक्तिकोरुपमा प्रमुख अतिथि कोइरालासँगै खाद्य अनुसन्धान अधिकृत बिक्रम लिम्बू रहेका थिए । संघका वाणिज्य सचिव सीताराम आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संघका कार्यसमिति सदस्य विष्णु बरालले गरेका थिए ।

तस्वीर श्रोत: विष्णु बराल