धरान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दामा बिशेष अदालतमा आरोप पत्र दायर गरेपछि विपी प्रतिष्ठानका पदाधिकारी, चिकित्सक र कर्मचारीहरु पदबाट स्वतःनिलम्बनमा परेका छन् ।

आयोगले आज पुर्वउपकुलपति डा.विपी दाससहित ८ जना विरुद्ध भ्रष्टचार मुद्दामा बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ । मुद्दा दायर भए पछि वहालवाला पदाधिकारी, कर्मचारी स्वतः निलम्बनमा पर्ने आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘वहालवाला पदाधिकारी र कर्मचारीहरु स्वतः निलम्बनमा पर्नेछन्, अन्यको हकमा अदालती नियम र प्रक्रिया अनुसार हुन्छ,’प्रवक्ता कोइरालाले भने ।

भ्रष्टचार मुद्दा दायर गरिएका मध्ये रजिष्ट्रार तुलबहादुर श्रेष्ठ बहालवाला हुन् । उनी पनि स्वतः निलम्बनमा परेका छन् । यस्तै, लेखा प्रमुख निदेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव पनि निलम्बनमा परेका छन् । हाल वहालवाला पदाधिकारी नभए पनि पुर्वउपकुलपति डा.विपी दास र पुर्वअस्पताल निर्देशक डा.अरविन्द सिन्हा प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् । दास प्रतिष्ठानको फार्माकोलोजीका प्राध्यापक हुन् भने सिन्हा प्याथोलोजी विभागको प्राध्यापक हुन् । उनीहरु दुवै पनि निलम्बनमा पर्नेछन् ।

कसले कति गरे भ्रष्टचार ?

पुर्वउपकुलपति डा. दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैया र पुर्व अस्पताल निर्देशक डा.सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय ११ रुपैया भ्रष्टचार गरेको अख्तियारको दाबी छ । यस्तै, पुर्व रजिष्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैया भ्रष्टचार गरेको अख्तियारको दाबी छ भने वर्तमान रजिष्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैया भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ । उनीहरुलाई सोही वमोजिम बिगो माग दाबी गर्दै अख्तियारले अदालतमा आरोप पत्र दायर गरेको छ ।

यस्तै, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैया र डेपुटी मेनेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख १६ हजार २ सय रुपैया भ्रष्टचार गरेको अख्तियारले जनाएको छ । प्रतिष्ठानको पदाधिकारीसँग मिलेमतो गरेर हिनामिना तथा भ्रष्टचार गरी विपी प्रतिष्ठानलाई नोक्सानी पुर्याउने प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवालले १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैया भ्रष्टचार गरेको अख्तियारले जनाएको छ । यस्तै, सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवाल उमेश अग्रवालले ६० लाख ३६ हजार ३ सय ४३ रुपैया भ्रष्टचार गरेको पनि आयोगले जनाएको छ ।

तस्बिर क्याप्सन:  १: पुर्वउपकुलपति डा.बिपी दास । २: पुर्व अस्पताल निर्देशक डा.अरविन्द सिन्हा । ३: वहालवाला रजिष्ट्रार तुलबहादुर श्रेष्ठ ।