ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “घुससहित सिंचाइ कार्यालयका प्रमुख पक्राउ” शीर्षकको समाचार छापिएको छ । सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख घुससहित पक्राउ परेका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर मोहनबाबु यादव एकलाख ८० हजार रुपैयाँ घूस लिदैं गर्दा सोमबार पक्राउ परेका हुन् । उनलाई उपभोक्ता समितिबाट घूस लिदैं गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । षडानन्द नगरपालिका १३ मा रहेको छाँगेखोला सिंचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इञ्जिनियर यादवले घूस लिएको अख्तियारको दावि छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको झण्डै ९८ लाख लागत अनुमान रहेको सिंचाइ आयोजनाको यस वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो ।

औजार : आजको औजार दैनिकमा “विस्थापितहरु ”भोकभोकै” विद्यालयमा” शीर्षकको समाचार छापिएको छ । वर्षा र बाढीका कारणले सुनसरीको विभिन्न ठाउँमा विस्थापित भएर बसेकाहरु पानीका बहाब घट्दै गएकोले घर फर्किन थालेका छन् । केही विस्थापितहरु घर फर्किएको छ भने केही विद्यालयमा भोकभोकै बसेका छन् । सरकारी राहत र उद्धार नभएको भन्दै तीन दिनदेखि भोक्राहा नरसिंह ७ कालि थान टोलका विस्थापितहरु पानीको बहाब घटेपनि घर फर्किन नसकेकोले भोकभोकै बस्न बाध्य रहेको पीडित कमला खंगले गुनासो गरे । सुनसरी खोलामा पानीको बहाब घट्दै गएकोले विस्थापितहरु घर फर्किने क्रम बढेको भएपनि नरसिंह क्षेत्रका ३५ परिवारको घर पानी र लेदो भरिएकाले फर्किने अवस्था नभएको खंगको गुनासो रहेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “प्रदेश १ का २ हजार विद्यालयमा “म अघि बढ्छु” अभियान” शीर्षकको समाचार छापिएको छ । विद्यालयस्तरमै लागूऔषध प्रयोग र यसले पार्न सक्ने दुरगामी प्रभावबारे विद्यार्थीमा सचेतनासहितको म अघि बढ्छु कार्यक्रम सुरु गरिएको छ । खासगरी टिनएजर्स विद्यार्थीलाई कुलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाई सामाजिक उत्तरदायित्वको बोध गराउने उद्देश्यले प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम शुरु गरेको हो । प्रदेशका सबै जिल्लामा सञ्चालन हुने कार्यक्रमले २ हजार विद्यालयका २ लाख विद्यार्थीलाई समेट्ने लक्ष्य लिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र शहरी क्षेत्रका धेरै परिवार लागूऔषध र्दुव्यसनका कारण निकै संकटमा परेको बताए ।