धरान:ट्यालेण्ट हण्टबाट उत्कृष्ट खेलाडीकोरुपमा छनौट भएका ११ जना खेलाडीहरुलाई डिपो माविमा छात्रवृत्ति प्रदान गरिएको छ ।

धरान बास्केटवल संघको आयोजनामा भएको ट्यालेण्ट हण्टबाट उत्कृष्ट छानिएका खेलाडीहरुलाई संघकै पहलमा डिपोले छात्रवृत्ति दिएको हो । विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सम्बन्धमा सोमबार संघ र डिपो स्कुलबीच धरान नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष सुरज लामा, सचिव विकास राई र जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले हस्ताक्षर गरेका छन् भने विद्यालयको तर्फबाट अध्यक्ष एवं पुर्व गोर्खा मेजर श्रवणकुमार लिम्बू, प्राचार्य राजकुमार राई र स्कुल वार्डेन खड्ग समसेर लिम्बूले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार विद्यालयले वैभव योगीलाई सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराएको छ । उनी यु १६ उमेर समुहमा नेपालको राष्ट्रिय टिममा छनौट भएर गत साता मात्र वंगलादेशमा साउथ एसिएन च्याम्पियनसिप खेलेर थिए । डिपो स्कुलकै विद्यार्थी उनलाई सतप्रतिशत छात्रवृत्ति विद्यालयकै चाहनामा पनि दिइएको हो । यस्तै, लाक्पा तामाङ, रुपेश राई, लिइलिशा श्रेष्ठ र रोशन श्रेष्ठले ७५ प्रतिशत छात्रवृत्ति पाएका छन् भने युरेका राई, इङ्गल खनाल, दिक्षा लिम्बू, मल्लिका राई, नुप राई र भावना लिम्बूले ५० प्रतिशत पाएका छन् ।

IMG_9774

संघका सचिव राईले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई प्रशिक्षण दिएपछि छनौट भएका उत्कृष्ट खेलाडीहरुलाई छात्रवृत्ति दिइएको बताए । उनले विद्यार्थीहरुलाई खेलकुद मात्र नभएर पढाईमा पनि ध्यान दिन आग्रह गरेका थिए । ‘हामीले १० बर्ष अघिदेखि नै राम्रो खेलाडी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउदै आएका छौं,’उनले भने,‘पहिलो प्राथमिकता पढाई नै हो, पढाईबाट उब्रिएको समय खेललाई दिनुपर्छ ।’

प्राचार्य राजकुमार राईले विद्यालयले पढाईलाई मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिइएको बताए । ‘हामी शिक्षामा पनि अग्रणी छौं, खेलकुदमा पनि अग्रणी नै छौं,’उनले भने,‘हरेक क्षेत्रमा हाम्रो विद्यार्थीहरु सफल नै देखिएका छन् ।’ नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले खेलाडीहरुसँग खेल प्रतिभा भएर मात्र नहुने भन्दै शिक्षा पनि अपरिहार्य भएको बताए ।