धरान : मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा आज दिउँसो मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लब भिड्दैछ ।

धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा दुवै टोली आमने सामने हुदा च्याम्पियन बन्ने मात्र होइन, प्रेसिडेन्ट कपमा पनि उत्कृष्ट टोली बनेर राष्ट्रिय लिग खेल्ने लक्ष्य पनि हुनेछ । अन्य प्रदेशबाट मात्र च्याम्पियन एक टोली प्रेसिडेन्ट कप खेल्ने मौका पाउदा प्रदेश १ मा भने दुवै टोली भाग्यमानी छ । राष्ट्रिय लिग खेल्ने ढोका रहेको प्रेसिडेन्ट कपमा प्रदेश १ बाट २ टोली समावेश गर्ने एन्फा र प्रदेश सरकारबीच भएको सम्झौतामा उल्लेख छ ।

आज मंगलबार दिउँसो साढे ३ बजे झापा र मोरङबीच फाइनल खेल शुरु हुनेछ । लिगको फाइनल चरणमा दुवै टोलीले वलियो जिल्लालाई पन्छाएर समुह विजेता हुदै फाइनल पुगेको हो । त्यसैले च्याम्पियन हुन दुवै टोलीलाई कठिन छ । विपक्षी खेलाडी मात्र होइन, झापा र मोरङको लागि प्रतिकुल मौषमसँग पनि जुध्नु पर्ने हुनसक्छ । निरन्तरको बर्षाले आफ्नो क्षमता अनुसार खेल प्रर्दशनमा नहुनसक्छ । समुह एबाट विजेता बनेर फाइनल पुगेको मोरङले बौद्धिक विकास समाज समिति धनकुटा र धरान फुटबल क्लब सुनसरीलाई पराजित गरेको थियो । मोरङले धनकुटालाई ६–१ र धरानलाई २–१ ले पराजित गर्दै प्रेसिडेन्ट कप खेल्ने सपना चकनाचुर बनाइदिएको थियो ।

मोरङका सहायक प्रशिक्षक राजकुमार पोखरेलले जित्नकै लागि लिग खेल्न आएको बताउदै राष्ट्रिय लिग खेल्न पनि टिम तयार रहेको दाबी गरे । ‘हामी २०, २२ बर्षदेखिको फुटबलमा सक्रिय क्लब हौं, खेलाडी पनि राम्रो छ । यहाँ च्याम्पियन हुदै प्रेसिडेन्ट कप र राष्ट्रिय लिग खेल्न तयार छौं,’उनले भने,‘मनाङ र थ्री स्टारसँग पनि खेल्न तयार छौं ।’

pradesh2

मोरङको प्रतिद्धन्दी झापाको सैनिक युथ पनि च्याम्पियनको हकदार टोली हो । फाइनल चरणमा बासिक्ला फुटबल क्लब खोटाङ र इलामको रेड हर्ष क्लबलाई पराजित गर्दै झापा प्रदेश लिगको उपाधि नजिक छ । खोटाङलाई ६–३ ले पन्छाएको झापाले वलियो टोली रेड हर्ष इलामलाई ३–१ ले स्तब्ध बनाउदै फाइनल पुगेको थियो । ‘च्याम्पियन बन्नकै लागि आएका हौं, जिल्ला लिग जितेदेखि कै हाम्रो तयारी थियो,’झापाका प्रशिक्षक प्रवेश कटवालले भने,‘हामीसँग अनुभवी सिनियर खेलाडी पनि छन्,त्यो हाम्रो लागि एडभान्टेज हो । तर, मोरङ पनि राम्रो टिम छ, गेम ५०–५० हुन्छ ।’

एन्फाका सहायक महासचिव तथा फाइनल चरणका म्याच कमिस्नर बसन्त अर्यालले प्रदेश १ बाट २ वटा टिमलाई प्रेसिडेन्ट कपमा सहभागी गराउने सम्झौतामा नै उल्लेख भइसकेको बताए । प्रेसिडेन्ट कपमा सहभागी भएकामध्ये ४ टिमले राष्ट्रिय लिग खेल्ने अवसर पाउनेछ । अन्य प्रदेशमा लिग हुन नसकेमा प्रदेश १ बाट नै ४ टिम सहभागी हुनसक्ने पनि उनले बताए ।

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख

pradeshl

लिग च्याम्पियनले ४ केजी चाँदीको रनिङ ट्रफि र नगद ५ लाख पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । यस्तै, फाइनल चरण खेल्ने अन्य ४ टिमलाई पनि ७५ हजारको दरले नगद पुरस्कार दिइने आयोजक एन्फाले जनाएको छ ।

व्यक्तिगत पुरस्कारतर्फ लिगका सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने एन्फाले जनाएको छ । यस्तै, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट फरवर्ड, उत्कृष्ट कोचलाई जनही नगद २५ हजार दिइनेछ भने भने फाइनल खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ ।