ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “लेटाङमा जनप्रतिनिधिहरुले नै बहिष्कार गरे नगरसभा” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसनिकट लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले बहुमतको आडमा नगरसभा पारित गर्न लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टीनिकट जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका छन् । नेकपानिकट उपप्रमुख कृष्णकुमारी निरौलासहित २२ जना जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका हुन् । मङ्गलबार लेटाङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी बहिष्कार बारे जानकारी गराएका थिए । उनीहरुले मङ्गलबार भएको नगरसभा मात्र होइन, योभन्दा अघिको दुईवटा कार्यपालिकाको बैठक पनि बहिष्कार गरेको थियो । उपप्रमुख निरौलाको संयोजकत्वमा भएको कानूनी व्यवस्था रहेको योजना अनुगमन समितिमा समेत नगरप्रमुख राईले हस्तक्षेप गरी जिम्मेवारीबाट बञ्चित गराएकी बताइकी छन् । वडाबाट आएको सिलिङ बजेट छलफल नै नगरी नगरसभामा लगेको र नगरले वितरण गर्ने बजेट मेयरले आफुखुशी वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सुरु भयो “म अघि बढ्छु” कार्यक्रम” शीर्षकको समाचार छापिएको छ । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा खचाखच भरिएका विद्यार्थी माँझ प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ यो कार्यक्रम शुभारम्भ भएको हो । यो कार्यक्रम प्रदेश १ का युवालाई सकारात्मक दिशातर्फ लैजान भूमिका खेल्ने सरकारको दाबी छ । कार्यक्रमको सुरुवातमा संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्य प्रोजेक्टरमार्फत देखाइएको थियो । प्रधानमन्त्रीबाट कार्यक्रमको शुभारम्भ गराउने प्रयास असफल भएपछि रेकर्डेड भिडियोमार्फत प्रधानमन्त्रीले युवालाई सही बाटोमा जानुपर्ने सन्देशसहितको शुभकामना बजाइएको थियो । लगत्तै गडगडाहट ताली र जोशिलो हुटिङसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरिका १४० विद्यालयका १५ हजार विद्यार्थीमाँझ क्लब गठन भएको जानकारी गराए । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले महत्वका साथ सुरु गरेको कार्यक्रममा मन्तव्य दिँदै मुख्यमन्त्री शेरधन राईले कार्यक्रममार्फत स्वस्थ र सुरक्षित समाज निर्माण हुनेमा विश्वास व्यक्त गरे । पहिले नै शुभारम्भ गर्नुपर्ने कार्यक्रम विभिन्न कारणले अन्तिम समयमा उद्घाटन भएको भन्दै उनले यसखालका कार्यक्रमले समृद्ध प्रदेश निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “डाँका मुद्दाका तीन फरार अभियुक्त पक्राउ” शीर्षकको समाचार छापिएको छ । धनुषामा एक वर्षअगाडि भएको डकैतीमा ३ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ भने अन्य दुई जनालाई यसअघिनै पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पीडित पक्षले दिएको उजुरीको आधारमा तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको गरिसकेको र डकैतमा संलग्न अन्य व्यक्तिको पहिचान भई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सर्लाही जिल्लाको तत्कालिन नोकैलवा गाविस ६ का ४९ वर्षीय गनेरु माझी रहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाए ।