काठमाण्डौं : साउने संक्रान्ति पर्व देशभर आज मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिनलाई लुतो फाल्ने दिनका रुपमा समेत लिने चलन छ । कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो बाली प्रतिकात्मक रुपमा लुतो फयाँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।