काठमाण्डौ : मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाको अनुमान छ । केही ठाउँमा एकैछिन ठूलो पानी पानी परे पनि अब लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् ।

बुधबार दिनभर आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । बिहीबार र शुक्रबार पनि देशभर आशिंकदेखि सामान्य बदली केही ठाउँमा मात्र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएको साता बिहीबारदेखि सक्रिय भएको मनसुन मंगलबारदेखि कमजोर बन्दै गइरहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहन्छ ।