धरान : धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले मेयर तारा सुब्बाको निधन पछि आफुले अभिभावक गुमाएको पीडा भोग्नुपरेको बताएकी छिन् ।

बुधबार स्वर्गीय मेयर तारा सुब्बाको प्रथम स्मृति दिवसमा बोल्दै कार्यवाहक मेयर भण्डारीले स्वर्गीय मेयर हक्की स्वभाग र राजकीय क्षमता भएका नेताको निधनले आफुले एक बर्ष अभिभावकविहिन भएको पीडा भोग्नुपरेको बताएकी हुन् । उनले अभिभावक गुमेपछि उपमहानगरपालिकामा बज्रपात भएको र एक पछि अर्को आक्रमण शुरु भएको पनि बताइन् । ‘मेयर साबको निधनले अभिभावक गुमाएको पीडा मैले भोगेको छुँ, उहाँको निधन पछि बज्रपात पर्यो, एक पछि अर्को आक्रमण शुरु भयो,’कार्यवाहक मेयर भण्डारीले भनिन् ।

manju-bhandari

उमेरले आफु सानो भएको र महिलाको नेतृत्वलाई अझै पनि नेपाली समाजले स्वीकार गर्न नमानेको कारण मेयर तारा सुब्बाको निधन पछि आफुले अभिभावकविहिनताको पीडा भोग्नुपरेको कार्यवाहक मेयर भण्डारीले बताइन् । ‘कतिपय वडाअध्यक्ष ज्यूहरुले पनि मलाई हल्कारुपमा लिइदिनुभयो,’उनले भनिन्,‘म सिक्ने क्रममा नै थिएँ, मेयर साब अभिभावककोरुपमा हुनुहुन्थ्यो, सिकाउने गर्नुहुन्थ्यो । तर उहाँको निधनपछि एक बर्ष मैले जति पीडा भोगे, अभिभावकविहिन भएको झैं भोगे ।’