ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अतिक्रमित भौतिक संरचनामाथि इटहरीका मेयरले चलाए डोजर” शीर्षकको समाचार छापिएको छ । विभिन्न अभिव्यक्तिका कारण विवादमा आएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना पुनः भत्काउन थालेका छन् । यसअघि पनि केही स्थानमा डोजर लगाउँदै आएका उनले बुधबार सडक र खोला अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन थालेका छन् । खोला अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका कारण इटहरी वर्षाको समयमा डुबानमा पर्ने गरेको छ । मानवीय अतिक्रमणका कारण खोलाहरु खुम्चिदो अवस्थामा पुगेपछि बर्खाको समयमा खोलाको पानी शहरी क्षेत्रमा प्रवेश गर्दा जनजीवन प्रभावित बन्ने गरेको छ । इटहरी डुबानको प्रमुख कारण खोला तथा कुलोपैनी अतिक्रमण भएको स्थानीयले बताउँदै आइरहेको छ । इटहरीमा गएको वर्ष खोला बस्तीमा प्रवेश गर्दा केहीले ज्यानसमेत गुमाउन पुगेका थिए । मेयर चौधरीले बुधबार सडक र खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउन आफै डोजर लिएर पुगेका थिए । यसअघि डिभिएम स्कुलको भौतिक संरचना भत्काउन आफैं पुगेका थिए । बुधबार नगर प्रहरीसहित पुगेका उनी इटहरी १७ स्थित स्यार्सेकाली पेट्रोलपम्प आसपासको संरचना भत्काएका थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “एशियाका चार गन्तव्यमा सगरमाथा आधार शिविर” शीर्षकको समाचार छापिएको छ । विश्वको प्रतिष्ठित पर्यटन प्रकाशन लोन्ली प्लानेटले नेपाललाई एशियाका मुख्य चार गन्तव्य सूचीमा राखेको छ । ४७ वर्ष पुरानो सो प्रकाशनको सामाजिक सञ्जालमा १ करोड बढी फ्लोअर्स छन् । सो प्रकाशनले भारतको ताजमहल, चीनको ग्रेटवाल, कम्बोडियाको एङकोर मन्दिरसँगै नेपाललाई मुख्य एशियाली गन्तव्यमा राखेको छ । एशियाका उच्च अनुभव शीर्षकमा लोन्ली प्लानेटले नेपालको सगरमाथा क्षेत्रलाई सूचीकृत गरेको छ । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय भएको लोन्ली प्लानेटले १६ दिने सगरमाथा आधार शिविरको पदयात्रालाई एशियका उच्च चार अनुभवहरुमा अटाएको छ ।

औजार : आजको औजार दैनिकमा “पिण्डेश्वरमा जल चढाउन सुरु” शीर्षकको समाचार छापिएको छ । धरानको पिण्डेश्वर बाबाधाममा जल चढाउन बोलबम मेला सुरु गरिएको छ । साउनको पहिलो दिन बुधबार प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले जल चढाएर बोलबम मेलाको उद्घाटन गरे । साउने सोमबार मात्र जल चढाउँदै आएकोमा पिण्डेश्वर बाबाधाममा यसपटकदेखि साउनको पहिलो दिनबाटै भक्तजनका लागि जल चढाउन सुरु गरिएको छ । भण्डारीसँगै प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले पनि पिण्डेश्वरमा जल चढाए । दुबैजनाले पिण्डेश्वर बाबाधाम मेला सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । भक्तजनलाई सहज बनाउनका लागि साउनको पहिलो दिनबाटै शिवलिंगमा जल चढाउन खुल्ला गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । पिण्डेश्वरको शिवलिंगमा गेरु बस्त्रधारी तिर्थयात्रीले खाली खुट्टा हिँडेर सप्तकोशी नदीबाट जल ल्याएर चढाउने प्रचलन छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रदेशको लोकसेवा विधेयक दर्ता” शीर्षकको समाचार छापिएको छ । प्रदेशले पनि लोकसेवा आयोग गठन गर्न सक्ने गरी संघीय सरकारले कानुनी बाटो खुलाएको तीन महिनापछि नै प्रदेश १ को सरकारले लोकसेवा आयोग गठन सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । प्रदेश १ को प्रदेससभामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विधेयक दर्ता गराएर सांसदहरुको हाताहातमा विधेयकको प्रति थमाएको हो । संविधानको धारा २४४ मा प्रदेशलाई लोकसेवा आयोग गठन गर्ने अधिकार दिइएको छ । त्यसका लागि संघीय संसदबाट पारित भएको प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ गत चैत्र १५ गते राष्ट्रपतिबाट प्रमाणिकरण गरिएको थियो । सोही ऐनलाई आधार बनाएर प्रदेश १ मा लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसहितको विधेयक तयार पारीसंसदमा लगिएको हो । प्रदेशमा संघबाट कर्मचारी आउन नमानेको र आउने कर्मचारी पनि ढिलो गरी आइरहेको भन्दै सातै प्रदेशका सरकारहरुले प्रदेश लोकसेवा आयोग गठन गर्ने बाटो खोल्न संघीय सरकारलाई दबाब दिएका थिए ।