काठमाडौं : महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले गत आर्थिक वर्ष ०७५÷७६ भर नै दैनिक रुपमा विनियोजित बजेटको खर्च र राजस्व संकलनको हिसाब सार्वजनिक गर्दै आएको थियो ।

तर आर्थिक वर्ष सम्पन्न हुन लाग्दा ३० असारमा एक्कासि मलेनिकाको वेबसाइट खुलेन । मलेनिकाका प्राविधिकलाई सोध्दा सिंहदरवारमा रहेको केन्द्रीय सर्भरमा समस्या आएकाले नखुलेको र खुलाउने प्रयास भइरहेकाले सोमबारसम्म ठीक हुने जानकारी दिए । भोलिपल्ट ३१ असार वा आर्थिक वर्षको अन्तिम दिन दिउँसो वेबसाइट खुल्यो । आवको अन्तिम सम्ममा विनियोजित बजेटको कति खर्च भयो र कति राजस्व संकलन भयो भन्ने विषय महत्वपूर्ण हुने नै भयो । तर दैनिक तुलनात्मक बजेटरी विश्लेषणको लिंकमा क्लिक गर्दा कुनै तथ्यांक देखाएन । मलेनिकाका एक अधिकारीले आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयले विवरण सार्वजनिक गर्नबाट रोक्न तथा राजस्व संकलनको विवरण तोडमोड गर्न यस्तो गरेको बताए । ‘खर्चको विवरण तोडमोड गर्न सकिँदैन तर सरकारले राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गर्न नसकेपछि तोडमोड गर्न यो सबै काम गरिएको हुन सक्छ,’ उनले भने । –नयाँ पत्रिका दैनिकबाट