झापा : दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि विचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।

५वर्षका लागी निर्वा्चित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशासंगै जनप्रतिनिधि बिचनै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । पछिल्लो समय नगरपालिकाले कर्मचारी नियुक्ति गर्दा पार्टिको स्थानिय नेतृत्व र जनप्रतिनिधिकै आफन्तलाई नियुक्त गरेको भन्दै नेकपा कार्यकर्ताबाटै सामाजिक सञ्जालमा असन्तुष्टि सार्वजनिक भएको थियो ।

दुई तिहाई भन्दा धेरै प्रतिनिधित्व भएको नेकपाकै प्रतिनिधि विच नेतृत्वको कार्यशैलीलाई लिएर चरम असन्तुष्टि भएपनि पछिल्लो समय त्यसलाई मत्थर पारिएको छ । तर दमकका १० वटा वडाध्यक्ष मध्ये राप्रपाबाट निर्वा्चित दुई जना वडाध्यक्षले नगरपालिकाले असार ३१ गते आयोजना गरेको बजेट सार्वजनिक कार्यक्रममा उपस्थिती नजनाएर आफ्नो असन्तुष्टि ब्यक्त गरे ।

सुध्रिएलान कि भनेर अपेक्षा गरेपनि नगरको नेतृत्वको कार्यशैली सुधारोन्मुख नभएको दमक वडा नम्बर ७ का वडाध्यक्ष भिम पौडेलले बताए । कर्मचारी नियुक्ति गर्दा आफुहरुले पारदर्शि र योग्य व्यक्तिहरुलाई नियुक्त गरौं न भन्दा पनि नसुनि आफन्तलाई भर्ति गर्ने, आफ्ना कार्यकर्ता भएकै आधारमा नगरपालीका विरुद्ध मुद्दा हाल्ने व्यक्तिलाई पनि सम्मानित गर्ने, बजेट निर्माणमा पनि एकलौटी गर्ने जस्ता कुरा नगरपालीकामा बढ्दै गएको उनले बताए । आफुहरु पनि समान हैसियतको जनप्रतिनिधि भए पनि सिमित व्यक्ति कोठा भित्र पसेर छलफल गर्ने र त्यहाँबाट आएको निर्णय अनुसार काम गर्ने गर्दा आफुहरु थपडि बजाउने जस्तो मात्रै भएको उनी सुनाउँछन् ।

आफुहरुले जति सुझाव दिए पनि नेतृत्वको कार्यशैली परिवर्तन नभएको वडा नम्बर १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीको समेत भनाइ छ । नगरको बिकाशको लागी जनप्रतिनिधि र नागरिक विच छलफल गर्नु भन्दा पनि एकलौटि ढंगले नेतृत्व अघि बढेको उनको आरोप छ । नगरसभामा आर्थिक प्रतिवेदन पेश गरेर नेकपाको पार्टि कार्यालयमा त्यसमाथि छलफल भएको भन्दै उनले गुनाशो गरे ।
नेकपाकै कार्यकर्ताहरु बाट सामाजिक सञ्जालमा नगरको नेतृत्व प्रति असन्तुष्टिका स्वरहरु सुनिन थाल्दा पनि नेतृत्व नसच्चिनु गम्भिर बिषय भएको नेकपाकै स्थानिय नेताले बताए ।