विराटनगर : प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५८ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालु र पूँजीगत दुवै तर्फ करिव समान बजेट खर्च भएको छ ।

प्रदेश सरकारको कुल पुँजीगत बजेटमध्ये ५८ दशमलब ५१ प्रतिशत खर्च भएको छ भने चालु तर्फ ५७ दशमलब ७४ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सरकारले चालु तर्फ ९ अर्व ८० करोड ८६ लाख ४५ हजार ६ सय १४ रुपैयाँ खर्च गरेको छ । पुँजीगत तर्फ ११ अर्व ३७ करोड ५१ लाख १४ हजार ३ सय ९७ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले खर्च गर्ने क्षमता विकास नगरेको भनेर आलोचना भएपनि आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा पूर्वाधार तर्फ पर्याप्त बजेट खर्च भएको देखिएको हो । प्रदेशका संरचनाहरुको स्थापना ढिलो भएको तथा कार्यालय र कर्मचारीहरु ढिलोगरी मात्र हस्तान्तरण र समायोजन हुँदा सबै बजेट खर्च हुन नसकेको बताइएको छ । जेठ अन्तिमसम्म करिव ३५ प्रतिशत पुँजीगत खर्च गरेको प्रदेश सरकारले असार महिनामा मात्र करिव २३ प्रतिशत पुँजीगत खर्च गरेको देखिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्षको अन्तिमसम्ममा ६० प्रतिशत पूँजीगत खर्च हुने दावी गर्दै बजेट खर्च गर्ने क्षमतामाथि प्रश्न उठाउन नपर्ने बताउँदै आएका थिए । प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका सदस्यहरुले पटक पटक सरकारसँग बजेट खर्च गर्ने क्षमता नभएको भन्दै सरकारको आलोचना गरेका थिए । मन्त्री आङ्बोले भने चालु आर्थिक वर्षमा प्रदेशको ९५ प्रतिशत भन्दा बढी बजेट खर्च हुने र त्यसको कार्यान्वयन प्रकृया सुरु भइसकेको बताएका छन् । प्रदेश सरकारका मन्त्रालयगत खर्च विवरण भने केही दिन पछि मात्र प्राप्त हुने बताइएको छ । प्रदेशले प्राप्त गरेको राजश्वका सबै विवरण आइनसकेका कारण आम्दानी यकिन गर्न पनि केही दिन लाग्ने बताइएको छ ।