धरान : तीन महिनाअघि धरानमा देखा परेको डेंगुको प्रकोप अझै पुर्णरुपमा नियन्त्रण आइसकेको छैन । तर, डेंगु नियन्त्रणको सर्च एण्ड डिष्ट्रोय अभियान भने सुस्ताएको छ ।

बर्षा शुरु भएर डेंगु नियन्त्रणको अभियान सुस्ताएसँगै डेंगुको विरामी पनि पुनः बढ्न थालेको छ । यही समयमा भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क परीक्षणको लागि डेंगु किट सकिएको छ । करिब एक सातादेखि उच्च ज्वरो आएर उपचारको लागि प्रतिष्ठान पुगेका विरामीहरु बाहिर निजी ल्याबमा महंगो शुल्क तिरेर डेंगु परीक्षण गराउन बाध्य छन् । ‘मलाई त फाइदा नै भएको छ, तर संवेदनाको पनि कुरा हो । विपीमा १ रुपैयामा हुने टेष्ट बाहिर महंगोमा गर्नुपरिरहेको छ,’एक ल्याब सञ्चालकले नागरिकसँग भने,‘किट छैन भन्दै बाहिर पठाउछन्, प्रदेश सरकारले ८० लाख दिएको भन्ने थियो, के भयो ?’ उनका अनुसार डेंगु विरामीको संख्या अहिले पनि उस्तै छ ।

प्रतिष्ठानका चिकित्सकहरु पनि नियन्त्रणको अभियान चलाउदा एक सातासम्म डेंगुका विरामीको संख्या घटेको थियो । दैनिक एक वा दुई जनाको दरमा मात्र विरामी देखिएर नियन्त्रण उन्मुख भएको डेंगु पछिल्लो दिनमा पुनः बढ्न थालेको प्रतिष्ठानको माइक्रोवायोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.लोकबहादुर श्रेष्ठले बताए । ‘लार्भा सर्च एण्ड डिष्ट्रोयको अभियान हुदा नियन्त्रणमा आएको जस्तो देखिन्थ्यो । त्यो बेला त दिनमा १, २ वटा मात्र केस आयो,’डा.श्रेष्ठले भने,‘बर्षाले गर्दा पनि होला, अभियान रोकियो र फेरी बढेको जस्तो देखिएको छ । हामीसँग डेंगु किट सकिएको ४, ५ दिन भयो ।’

dengue 2

धरानमा डेंगु पोजेटिभ भएकी एक महिलाको केही दिनअघि उपचारको क्रममा निधन भएको थियो । अहिले पनि उच्च ज्वरोका विरामीहरु उपचारमा आउने क्रम जारी रहेको प्रतिष्ठानको आकस्मिक कक्षका एक चिकित्सकले बताए । निरन्तर ३ दिन उच्च ज्वरो आएका विरामीहरुलाई केही दिनदेखि डेंगु परीक्षण गराउन बाहिर पठाउन बाध्य भएको ती चिकित्सक बताउँछन् । ‘यहाँ किट सकिएको छ, त्यसैले बाहिर पठाउनु हाम्रो बाध्यता हो,’ती चिकित्सकले भने । डेंगु किट सकिएको बारेमा जानकारीसहित प्रदेश स्वास्थ्य निर्देशनालयमा माग गरिएको प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले बताए । ‘आवश्यक कागजातहरु पठाएका छौं, चाडै आउनुपर्ने हो,’उनले भने ।

प्रदेश स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेल भने माग गर्नुबित्तिकै डेंगु किट दिन नसकिने बताउँछन् । पहिला लगेको किट के भयो भनेर रिपोर्ट नपठाएसम्म प्रतिष्ठानलाई दिन नसकिने उनले बताए । ‘माग्ने बित्तिकै दिन सकिदैन । पहिला लगेको किट के भयो ? त्यसको रिपोर्ट चाहिन्छ,’डोटेलले भने,‘विपीले ११ सय विरामीको नाम पठायो । तर, क कस्लाई टेष्ट गरेको हो ? कसलाई नेगेटिभ र कसलाई पोजेटिभ आएको हो, भनेर पनि दिनुपर्छ ।’ धरान डेंगु प्रभावित क्षेत्र भएकोले ज्वारो आएका विरामीलाई डेंगुको शंका शुरुमा भएपनि एकै चोटी टेष्ट गरिहाल्नु नपर्ने डोटेल बताउँछन् । ज्वरो धेरै आएको र प्लेटलेस १ लाख कम भएकोलाई मात्र टेष्ट गर्न दिएको निर्देशन पालना नहुदा किट अभाव भएको उनको भनाई छ । ‘त्यसो नगरी ज्वरो आएको सबैलाई टेष्ट गर्ने हो भने त फ्याक्ट्री नै राखे पनि पुग्दैन,’उनले भने ।

मनसुनले झन् खतरा

dengue-4

प्रकोप क्षेत्र घोषणा भएपछि प्रदेश सरकारको निर्देशन वमोजिम धरान उपमहानगरले असार पहिलो साता एक साताभित्र नियन्त्रण गर्ने कार्ययोजना बनाएर सर्च एण्ड डिष्ट्रोय थालेको थियो । एक साता तीब्ररुपमा धरानमा अभियान चल्यो । बर्षा शुरु भएपछि लामखुट्टेको लार्भा सर्च एण्ड डिष्ट्रोय अभियान थामियो ।
अहिले पनि बर्षा हुदै र थामिदै गरिरहेको छ । यसले डेंगुको जोखिम झन् बढाउने भएकोले प्रत्येक नगरबासी आफै सचेत हुनुपर्ने र्यापिड रेस्पोन्स टिमका सदस्य एवं विपी प्रतिष्ठानका चिकित्सक डा.विजय खनाल बताउँछन् । ‘डेंगु विरामी पहिला जस्तो पिक छैन, तर आउने क्रम जारी नै छ,’उनले भने,‘मनसुनले पानी पर्ने, रोकिने भएकोले बढ्न सक्ने सम्भावना छ, अब झन् सबै सचेत हुनुपर्छ । घर र वरीपरी पानी जमिएको भए पोखाउनुपर्छ ।’ डा. खनाल मनसुन चलिरहदा पनि सर्च एण्ड डिष्ट्रोय अभियान जारी राख्नुपर्ने बताउँछन् । साथै, भाइरसको टाइप पनि पुनः जाँच गर्नुपर्ने अवस्था आएको उनले बताए ।

र्यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राई उपमहानगरपालिका, स्वास्थ्य कार्यालय र अस्पताल सबैले सजगता लिनुपर्ने बताउँछन् । ‘कही न कही ग्याप भयो, कमी कमजोरी भएर नै हो, नियन्त्रणमा आएको छैन,’उनले भने,‘पहिला जस्तो मानिस आतंकित छैनन् । डेंगुलाई सामान्यरुपमा लिएका छन् । यो राम्रो पक्ष पनि हो, तर घातक पनि हुन्छ ।’ धरानमा अहिले डेंगुलाई सामान्यरुपमा लिएर ज्वरो आउदा पनि घरमा नै बसेर सिटामोल खाने गरेका छन् । यसले स्वास्थ्यमा जोखिम बढाउने भन्दै राईले चिकित्सकको सल्लाहअनुसार मात्र औषधी उपचार गर्न सुझाव दिन्छन् । ‘मान्छेहरु डेंगु भन्दै ज्वारो आउदा पनि घरैमा बसेर सिटामोल खाइरहेका छन्, यो स्वास्थ्यको लागि घातक बन्नसक्छ । डेंगु भएको एक जनाले त ज्यानै गुमाइसकेका छन्,’उनले भने ।