धरान: जिल्ला बास्केटवल संघ सुनसरी र धरान बास्केटवल संघले पोखरामा हुन लागेको रेफ्रि क्लिनिकमा सहभागिताको लागि धरानका ८ जना प्रविधिक टिमलाई शुक्रवार विदाइ गरेको छ ।

श्रावण ६ र ७ गते नेपाल बास्केटवल संघको आयोजना तथा कास्की बास्केटवल संघको संयोजनामा रेफ्रि क्लिनिक हुन लागेको हो । धरानबाट क्लिनिकमा भोजराज लिम्वुको नेत्तृत्वमा शिसिर पोखे्रल, सुरेन्द्र राई, मनाहाङ्ग राई, अमृत राई, सुरज तामाङ्ग, युगल लिम्वु र विराज लिम्वुले सहभागिता जनाउने भएका छन् । धरान बास्केटवल संघले शुक्रवार धरान १८ स्थित एमसि क्याफेमा विदाई कार्यक्रमको आयोजना गरि उनीहरुलाई विदाई गरेकये हो ।

क्लिनिकमा सहभागिहरुलाई फिवा रेफ्रि प्रशिक्षक मार्वान इघोले प्रशिक्षण दिनेछ । बास्केटवल खेल विकासका लागि दक्ष जनशक्ति उत्पादनका लागि उनिहरुलाई प्रविधिक ज्ञानका लागि रेफ्रि क्लिनिकमा सहभागिता जनाउन पठाएको नेपाल बास्केटवल संघका उपाध्यक्ष तथा धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाले जनाए । विदाई कार्यक्रममा प्रमुख अतिथी नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राई, विशेष अतिथि जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदि, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले प्राविधिक टिमलाई सुभकामना दिएका थिए ।