दमक : सरकारी तथा निजि क्षेत्रमा समेत रोजगारीको अवसरबाट बन्चित बनेका लैंङ्गीक तथा यौनिक अल्पसंख्यकहरुले स्वगरोजगार बन्ने अवसरको खोजी गरेका छन् ।

तेस्रो लिंगी भनेर पहिचान गराउँदा काम गरेर खानै समस्या हुन थालेपछि झापाका विभिन्न स्थानका यौनिक अल्पसंख्यकहरुले सिलाई बुनाई तथा अन्य शीप सिकेर स्वरोजगार बन्न थालेका हुन् । दमक नगरपालिकाले पछाडि पारिएका फरक लिंगीहरुका शीप विकासको लागि लीड नेपाललाई ५ वटा लुगा सिलाउने मेसिन उपलव्ध गराएको छ । संस्थाले यौनिक अल्पसंख्यकका लागि शीप र क्षमता विकासमा कार्य गर्दै आएको संस्थाकी कार्यक्रम संयोजक नुमा लिम्बु चन्चलाले बताइन् ।

इलाम फिक्कलकी रविना नेपाल ५ बर्ष अघि पुरुषको पहिचानमा मलेशिया गएकी थिइन् । तर लिंग पहिचान भए पछि आफूले धेरै दुःख पाएको उनले बताईन् । कक्षा १२ अध्ययन गरेकी नेपालले लोक सेवा देखि राज्यका अन्य निकायमा रोजगारको खोजी गर्दा समेत नपाएकोले शीप सिकेर स्वरोजगार बन्ने बताईन् ।

संस्थामा झापा, मोरङ्ग, इलाम लगायतका यौनिक अल्पसंख्यकहरुको सामुहिकरुपमा क्षमता अभिवृद्धि, यौन रोग न्यूनिकरण, शीप विकास जस्ता कार्यमा सहभागी हुँदै आएका छन् । अहिले स्थानीय तहले समेत सहयोग गर्न थालेकोले उनीहरुलाई खुशी लागेको छ ।
संस्थाले यौनिक अल्पसंख्यकहरुलाई ५ प्रकारमा विभाजन गरेको छ । एल. जी. बी. टी. आई. अर्थात महिला समलिंगी, पुरुष समलिंगी, द्विलिंगी, तेस्रो लिंगी तथा अन्तरलिंगी भनेर पहिचान गरेको छ । राज्यमा झण्डै ९ लाख संख्यामा रहेका यी फरक लिंगीहरुले पहिचान र रोजगारको अवसर नपाउँदा ठूलो समस्या भोग्नु परेको उनीहरुको गुनासो छ ।