ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “छोइनसक्नु हरियो तरकारी” शीर्षकको समाचार छापिएको छ । अविरल वर्षाको कारण हरियो तरकारीको मूल्य छोइनसक्ने गरी महँगिएको छ । एक साताबीचमै कुनै तरकारीमा सय प्रतिशतभन्दा बढी महँगिएको हो । नियामक निकायहरु यसबेला भने मौन छन् । वर्षाभन्दा अघि र वर्षाभन्दा पछि हरियो तरकारीको मूल्यमा २० रुपैयाँदेखि एकसय रुपैयाँसम्म वृद्धि भएको बजारको तथ्यांकबाट प्रष्टिन्छ । खुद्रा व्यवसायीहरु नै २० प्रतिशतदेखि सय प्रतिशतसम्म मुल्य बढेको बताउँछन् । धरान १५ की उपभोक्ता डम्बरकुमारी मगरले पानी पर्न थालेपछि हरियो तरकारी अति नै बढेको बताइन् । “पानी पर्न थालेपछि हरियो तरकारी त अति नै बढेको छ,” उनले भनिन्, “नखाइ नहुने । १० रुपैयाँ पावा पाउने तरकारी अहिले ४० रुपैयाँ पावा पुगेको छ ।” उपभोक्तालाई मात्रै हैन, अहिले खुद्रा तरकारी बिक्री गर्दै आएकाहरुलाई पनि हरियो तरकारीको मूल्य आकाशिएको छ ।

औजार : आजको औजार दैनिकमा “हत्या आरोपमा तीन वडाध्यक्ष फरार” शीर्षकको समाचार छापिएको छ । मोरङका दुईवटा स्थानीय तहका तीन जना वडाध्यक्ष फरार भएपछि बाढी पीडितहरुलाई समस्या भएको छ । विराटनगर महानगरपालिका २ र जहदा गाउँपालिकाका एक वडा अध्यक्ष हत्या आरोप लागेपछि फरार भएपछि वडाको काम र बाढीले विस्थापित भएकाहरुलाई राहत उपलब्ध गराउन समेत कठिनाई भएको छ । तीनवडा अध्यक्षको उपस्थितिमा विराटनगर १४ का समानन्द यादवमाथि विवाहमा निर्घात कुटपिट भएको थियो । उपचारका क्रममा यादवको मृत्यु भएपछि विराटनगर १४ का वडाध्यक्ष यादव, १८ का वडाध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप यादव फरार भएका छन् । उनीहश्रले गत जेठ ३२ गते छोराले विहे नगरेको विषयमा विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा कुटपिट गरेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “सिद्धिचरण लोकमार्ग अझै सातादिन नखुल्ने” शीर्षकको समाचार छापिएको छ । अविरल वर्षाका कारण ३ दर्जनबढी ठाउँमा गएको पहिरोले १० दिनयता अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु हुन अझै साता दिनभन्दा बढी लाग्ने भएको छ । सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा जोड्ने लोकमार्गको ४२ किमि खण्डमा ४० ठाउँमा भन्दा बढी पहिरो गएर यातायात अवरुद्ध हुन पुगेको थियो । सडक मर्मत कार्य ३ दिनदेखि लगातार जारी रहे पनि कम्तीमा साता दिनपछि मात्र सुचारु हुनसक्ने सडक डिभिजन कार्यालय लहानले जनाएको छ । पहिरोले साता दिनयता सो लोकमार्गमा यातायात अवरुद्ध छ । निरतर वर्षाले सडक भत्काएपछि यात्राकै क्रममा बीच सडकमा अड्किन पुगेका दर्जनौं ठूला तथा साना सवारी साधन अझै निस्कन सकेका छैनन् ।