पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पहिराले राजमार्ग बन्द हुँदा २८ लाख रुपैयाँ बराबरको गोलभेंडा बिग्रिएको छ ।

मेची राजमार्गको फिदिम इलाम सडकखण्डअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा पर्ने पाङ्ग्रेभीरमा पहिरो गएपछि राजमार्ग बन्द हुँदा उत्पादित गोलभेंडा बजारसम्म र्पुयाउन नसकिएपछि बिग्रिएको हो ।

पाँचथरको नागी, अमरपुर र थर्पुदेखि तराई लैजान २२ वटा पिकअपमा राखिएको गोलभेंडा कुहिएर नष्ट भएको ब्यापारी नवराज उप्रतीले बताए । बुधबार लोड भएका २२ वटा पिकअप पाँच दिनदेखि बाटैमा रोकिएका छन् । कुहिएको गोलभेंडा सडकमै फालिएको छ ।

यस्तै झापाबाट पाँचथर र ताप्लेजुङसम्म फलफूल लिएर आएका गाडी रोकिएपछि आँप र केरा बिग्रिने अवस्थामा पुगेकोे फिदिमका फलफूल ब्यापारी बताउँछन् । यसैबीच फिदिममा पेट्रोलियम पदार्थको समेत अभाव भएको छ । स्टक राखिएको पेट्रोल सकिएको र डिजेलसमेत सकिन लागेका कारण समस्या भएको किरण सप्लायर्स फिदिमका प्रोपाइटर धनबहादुर राईले बताए ।

राजमार्ग अबरुद्ध भएपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ ।