इटहरी : सवारी दुर्घटनामा एक आर्थिक बर्ष २०७५,७६ माप्रदेश १ मा ज्यान गुमाउनेको संख्या ३७३ पुगेको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालका अनुसार गत बर्षको भन्दा यो बर्ष दुर्घटनामा ज्यान गुमाउनेको संख्या घटेको हो । ‘गतबर्ष १२७९ सवारी दुर्घटना हुँदा ४२४ जनाको ज्यान गएको थियो,’ एसपी दाहालले भने, ‘यो बर्ष १२९८ वटा सवारी दुर्घटना हुँदा ३७३ को ज्यान गयो ।’ उनका अनुसार यस बर्ष सवारी दुर्घटनामा ९३४ जना गम्भीर घाईते भएका छन् भने १३९२ जना सामान्य घाईते भएका छन् । गत बर्ष भने ९७४ जना गम्भीर घाईते भएका थिए भने १०९८ जना सामान्य घाईते भएका थिए । ०७३,७४ मा भने १३९८ वटा सवारी दुर्घटना हुँदा ४९८ जनाको ज्यान गएको दाहालले बताए ।

उनका अनुसार ११७६ जना गम्भीर र १४४४ जना सामान्य घाईते भएका थिए ।
प्रदेश १ मा दुर्घटना हुन नदिनका लागि अाँँफूहरुले जनचेतनामूलक कार्यक्रमलाई तीब्रता दिएको दाहालले बताए । उनले भने, ‘हामीले दुर्घटना न्यूनिकरणका लागि विभिन्न मोडेलमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएका छौँ, ट्राफिक शिक्षाको कमी भएका कारण दिनमा ५० ठाउँमा हामीले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छौँ ।’ उनका अनुसार सडक प्रयोगकर्ता स्वयम् स्वअनुशासनमा हिड्नुपर्ने बताए । ‘पैदलयात्रीले बाटो काट्दा, सवारी चालकले तीब्र गतिमा चलाउँदा र ओभरटेक गर्दा स्वअनुशासनमा बस्नुपर्छ,’ दाहालले भने, ‘अहिले तीनपाङ्ग्रे सवारी चालकले जहाँ भेट्यो त्यहीँ यात्रु चढाउने गरेको छ, त्यसको अन्त्यका लागि पनि हामीले काम गरिरहेका छौँ ।’

उनका अनुसार चालक र यात्रु ट्राफिक प्रहरीले तोकेका निश्चित ठाउँमा नबस्ने बताउँदै स्थानीय सरकारले सवारी व्यवस्थापनको निम्ति निश्चित जग्गा छुट्टाउनुपर्ने बताए । आँफूहरुले अहिले राडार गनको माध्यमबाट सवारी चेकिङ गरिरहेकाले पनितीब्र गतिमा सवारी चलाउने मानिसहरुलाई सचेतना गराईएको बताए । ‘सडकमा हुने लापरबाही र तीब्र गति रोक्नका लागि हामीले राडार गनको माध्यमबाट सवारी जाँच गर्ने कार्यक्रमलाई जोड दिएका छौँ, सवारी चालकहरु संवेदनशील हुन जरुरी छ ।’ उनले भने ।