धरान: आज साँझ धरान १५ आडा रोडस्थित ड्रेनमा खसेर स्थानीय एक युवाको मृत्यु भएको छ ।

आडा रोड, अखौले चोकका अरुणकुमार राईको साँझ करिब साढे ६ बजे ड्रेनमा खसेर मृत्यु भएको हो । उनी ड्रेनको माथि रोडको साइडमा निर्माण गरिएको सेफ्टी गार्डमा बस्न खोज्दा अचानक ड्रेनमा खसेर घटनास्थलमा नै निधन भएको वडा सदस्य ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार करिब ८, ९ मिटर गहिरो ड्रेनमा खस्दा राईको टाउको फुटेको थियो । ‘सेफ्टी गार्डमा बसेको मात्र के थियो, उत्तानो परेर ड्रेनमा खसेछ, नजिकै २ जना भाईहरुले प्रत्यक्ष देखेको रहेछ,’बस्नेतले भने,‘लड्नु बित्तिकै टाउको फुटेछ ।’

ड्रेनमा खसेको केही समयभित्रै उद्दार गरेर बाहिर निकाल्दा उनको निधन भइसकेको थियो । घटनास्थल वडासदस्य बस्नेत र कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको नजिक पर्छ । उनी वडा १५ की महिला स्वास्थ्य स्वयम सेविकाकी एक मात्र सन्तान थिए । मृतक अरुण आमा, श्रीमति, एक छोरा र एक छोरीको साथमा रहदै आएका थिए । कहिलेकही इलेक्ट्रीसियन काम पनि गर्थे । मृतकको शव हाल विपी प्रतिष्ठानस्थित मर्चरीमा राखिएको छ भने सोमबार पोष्टमार्टम गर्ने तयारी छ ।