ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ट्रान्सफर्मर जडानखर्च भन्दै उपभोक्ताबाट रकम असुली” शीर्षकको समाचार छापिएको छ । रुथानीय केही टाठाबाठाहरुले ट्रान्सफर्मर जडान खर्च भन्दै हरेक घरबाट रकम असुलेको पाइएको छ । विधुत् प्राधिकरण भद्रपुर प्रसारण केन्द्रबाट स्थानीय उपभोक्ताको सुविधाको लागि निशुल्क प्रदान गरिएको भन्दै भद्रपुर ४ स्थित पाँच कठ्ठे लाइन बाघेपुलछेउका १ सय ५२ घरबाट जनही ५० देखि १ हजार रुपैयाँसम्म असुलेको पाइएको छ । स्थानीय केही अगुवाले ब्लाष्टकर्मीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको छ । आदिवासी, दलित, सीमान्तकृत तथा पिछडा वर्गको बाक्लो जनघनत्व रहेको सो बस्तीमा स्थानीय पूर्णप्रकाश पुरी, गङ्गाबहादुर घिसिङ, बलराम पोखरेललगायतको समूहले ट्रान्सफर्मर जडान खर्च भन्दै बोरिङ भएका घरबाट कम्तिमा २ सयदेखि १ हजारसम्म माग गरे पनि विरोध गर्नेहरुबाट ५० रुपैयाँ भएपनि असुलेको विरोधकर्ताले बताएका छन् ।

औजार : आजको औजार दैनिकमा “श्रीलंकाटापुबासीको पीडा डुंगा नचढी सुखै छैन” शीर्षकको समाचार छापिएको छ । सप्तकोशी नदिको बीचमा रहेको श्रीलंका टाप्पुबासीलाई यातायातको एउटै मात्र साधन नाउँ (डुंगा) रहेको छ । उनीहरुलाई कोशीमा डुंगा नचढी सुखै छैन । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुरको गरैया र श्रीलंकाटापुबासीलाई कोशीमा डुंगा चढ्नुपर्ने बाध्यता रहेको श्रीलंकाटापुबासीले बताएका छन् । स्थानीय सरकारले बाढीको समयमा असार एक गते देखि तीन महिनासम्म कोशीमा डुगा चलाउन बन्द गरेको भएको पनि जोखिम मोलेर डुंगा चढ्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । बाढी र वर्षायाममा विगतका वर्षहरुमा डुंगा दुर्घटना भएर दर्जनौको ज्यान गएको थियो, त्यसपछि स्थानीय सरकारले बाढीको समयमा असार एक गते देखि तीन महिनासम्म कोशीमा डुंगा चलाउन बन्द गर्ने नीति दिएको छ । यसबाट स्थानीयलाई असहज भएपछि मानवीय क्षति हुन नदिनका लागि वर्षाको समयमा बन्द गर्ने नीति लिएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “आन्दोलनमा सप्तरीका उद्योगी” शीर्षकको समाचार छापिएको छ । सरकारको नयाँ कर नीतिविरुद्ध सप्तरीका उद्योगी व्यवसायीहरुले चरणबद्ध आन्दोलन थालेका छन् । साउन १ गतेदेखि लागू हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी नै संकटमा पर्ने भन्दै यहाँका उद्यँेगी व्यवसायीहरु चरणबद्ध आन्दोलनमा होमिएका हुन् । यसै क्रममा उद्योग व्यवसायीहरुले आइतबार राजविराजमा विरोध प्रदर्शन गरेका छन् । यसैगरी उदयपुर उद्योग वाणिज्य संघ कटारीले नयाँ कर नीतिको विरोध गर्दै प्रधानमन्त्रीलाई आइतबार ज्ञापनपत्र बुझाएको छ । ०७६ साउनदेखि सरकारले लागू गर्न खोजेको नयाँ कर नीतिको विरोध गर्दै संघले स्थानीय उद्योगी, व्यवसायीको नेतृत्व गर्दै इलाका प्रशासन कार्यालय कटारीमार्फत ज्ञापनपत्र बुझाएको हो ।