धरान : धरानका निजी मेडिकल तथा ल्याबहरुमा डेङ्गु ज्वरोको परीक्षणमा गर्दा ६ सय मात्र शुल्क लिने निर्णय लागु नभएको पाइएको छ ।

निजी स्वास्थ्य क्षेत्रमा मनमरी शुल्क लिएको जनगुनासो बढेपछि धरान उपमहानगरपालिकाले धरानका मेडिकल तथा ल्याबहरुलाई छलफलमा बोलाएर ६ सय रुपैयाँ मात्र शुल्क लिने निर्णय गरेको थियो । तर, यो निर्णयलाई निजी मेडिकलहरुले लागु नगरेको भेटिएको छ । निर्णय भएको भोलीपल्ट नै धरान–१८ मा सञ्चालित एक निजी ल्याबले निर्णय विपरीत चर्को शुल्क लिएको पाइएको हो । धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रबेशद्वार अघि रहेको सप्तकोसी डाइग्नोष्टिक सेन्टरले डेंगु परीक्षण गरेको १ हजार ५० रुपैयाँ लिएको पाइएको हो ।

धरान–११ का जिवन राईले आफ्नो आफन्तलाई चार दिनदेखि लगातार ज्वरो आएपछि डेङ्गुको शंका लागेर रगत परीक्षणको लागि सप्तकोसी डाइग्नोष्टिक सेन्टरमा आइतबार लगेका थिए । त्यहाँ उनले १ हजार शुल्क तिर्नु परेको बताए । धरान डाइग्नोष्टिकले पनि हजार रुपैया भनेको उनले बताए । ‘शुरुमा धरान डाइग्नोष्टिक सेन्टरमा लगेँ डेङगु परीक्षणको शुल्क १ हजार भन्यो, त्यसपछि सप्तकोसी डाइग्नोष्टिक सेन्टरमा लगे, तर त्यहाँ पनि शुल्क उस्तै पाइयो,’उनले भने,‘शनिबार साँझ मात्र डेङ्गु परीक्षण शुल्क ६ सय लिने निर्णय भएको समाचार पढेको थिए, तर लागु भएको रहेनछ ।’

शुल्क ६ सय मात्र लिने निर्णय गरिएको बारे सप्तकोसीका कर्मचारीलाई बताए पनि उक्त शुल्कमा जाँच गर्न नसकिने जवाफ फर्काएको ती कर्मचारीलाई उदृत गदै राईले बताए । ‘मैले ६ सय रुपैयाँ लिने भनिएको छ भनेर भन्दा उहाँले हामी त्यतिमा चेक गर्न सक्दैनौं भन्नुभयो,’उनले भने,‘डेङगु परिक्षण गर्ने किट नै ६–७ सय रुपैयाँ पर्छ अनि कसरी गर्नु ? हामीलाई घाटा हुन्छ भन्नुभयो ।’

मेडिकल सेन्टरहरुलाई नै घाटा हुन्छ भने कस्तो खालको निर्णय गरिएको हो भनेर आफु आश्चर्यमा परेको राईले बताए । उनले भने ‘१ हजार रुपैयाँ तिर्न गाह्रो मानेको हैन, तर निर्णय भएको कुरा किन लागु भएन त्यो मेरो प्रश्न हो ?’उनले थपे । प्रकोपको रुपमा फैलिएको डेङगु परिक्षणमा मनपरी शुल्क लिनु भन्दा पनि सेवाको भावना राख्नुपर्ने बताए । उनले आफ्नो आफन्तको डेङगु ‘आइजिजि, आजिएम र एनएस वान’ परिक्षण गरिएको थियो । जसमा डेङगु पोजेटिभ देखिएको रिपोर्ट आएको बताए ।

meeting

निर्णय अनुसार डेंगु परीक्षण गर्न सकिदैनः व्यवसायी

यता सप्तकोसीका सञ्चालक आशिष उराँवले भने उपमहानगर र मेडिकल सेन्टरहरुले गरेको निर्णय अनुसार डेङ्गु परिक्षण गर्न नसकिने बताए । ‘हामीलाई डेङ्गु किटको दाम नै महंगो पर्छ अनि कसरी ६ सय रुपैयाँ जाँच गर्न सकिन्छ,?’ उनले भने,‘कोठा भाडा महंगो छ, स्टाफ खर्च अनि कसरी सकिन्छ ?’ उपमहानगरले डेङ्गु किट निःशुल्क उपलब्ध गराए निशुल्क जाँच गरिदिने बताए । उपमहानगरले छलफलमा पनि नबोलाएको बताउदै उनले भने, ‘हामीलाई त जानकारी छैन, खै को कस्ले निर्णय गर्यो । आधिकारिक जानकारी छैन ।’

डेङ्गु नियन्त्रणको लागि प्रदेश सरकारबाट ८० लाख रुपैयाँ आएपनि डेङगु नियन्त्रण नभएको बताउदै रकम कसरी खर्च भइरहेको भन्ने सबैले जानकारी पाउनुपर्ने उनको भनाइ थियो । ‘निःशुल्क किट उपलब्ध गराउनुपर्छ, हामी पनि निःशुल्क जाँच गरिदिन्छौं ?’उनले भने ।

संगठनमार्फत जानकारी गराइएको हो: बरिष्ठ कविराज

यता धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका बरिष्ठ कविराज रामबाबु यादबले धरानका सबै मेडिकलहरुलाई उनीहरु आवद्ध संघ संगठनहरुमार्फत निर्णयबारे जानकारी गराएको दाबी गरे । उनले सबै मेडिकल सेन्टरहरुमा पुग्न असम्भव हुने भएकोले उनीहरु आवद्ध संघसंगठनलाई आधिकारिक मानिने बताए । ‘हामीले हस्पिटल युनियन, पोलिक्लिनीक यूनियन, स्वास्थ्यकर्मी यूनियनलगायतका यूनियनहरुमार्फत अधिकारिक जानकारी गराएका हौं, त्यही अनसार उहाँहरुसंग बसेर निर्णय गरेको हो,’¥यापिड रेस्पोन्ज टिमका प्रबक्ता समेत रहेका यादबले फोनसम्पर्कमा भने ‘हामी प्रत्येक मेडिकल सेन्टरमा पुग्न सम्भब छैन, हामी उहाँहरुको संगठनमार्फत पुग्ने हो ।’

उनले डेङकु किट मुल्य ३ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्ने भएको र त्यसमा २० प्रतिशत जोडेर ६ सय रुपैयाँ निर्धारण गरिएको बताए । उनले हचुवाको भरमा नभएर अध्ययन गरेर सम्बन्धीत पक्षसंग छलफल गरेर शुल्क निर्धारण गरिएको स्पष्ट पारे । ‘हामीले डेङ्गु किट कहाँबाटा आउछ, कहाँ पाइन्छ, कतिमा पाउँछ, अहिले कहाँ सर्टेज छ, कहाँ प्रयाप्त मात्रामा पाउँछ त्यो सबै अध्ययन गरेका छौं,’उनले भने,‘अध्ययन गरेअनुसार बजारमा यसको मुल्य ३ सय ५० देखि ५ सय रुपैया पर्छ, अनि त्यसमा २० प्रतिशत जोडेर ६ सय रुपैयाँ लिने निर्णय गरिएको हो, अनि कसरी घाटा हुन्छ ?’

उनले विना दर्ता अबैधानिक तरिकारले सञ्चालन गरिएको मेडिकल सेन्टरहरुले अटेर गरिरहेको बताउदै अब चाडै अनुगमन गरिने समेत बताए । विपद्को समयमा सहयोग गर्नुको साटो बखेडा झिक्ने कार्य नैतिक रुपमा पनि ठिक नभएको बताए । ‘यो विपदको घडीमा कमाउने धन्दा हैन, सेवा गर्ने हो, हामीले विनम्रतापूर्वक उहाँहरुलाई आग्रह गदै आएका छौ,’ उनले भने ।

निर्णय नमाने स्पष्टिकरण: कार्यबाहक मेयर

धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले निर्णय विपरीत डेङगु परीक्षण्मा ६ सय रुपैयाँ भन्दा माथि शुल्क लिन नपाइने बताइन् । ‘हामीले उहाँहरुसंग बसेर छलफल गरेरै निर्णय गरेको कुरा हो,’उनले कपुरीन्युजसँग फोन सम्पर्कमा भनिन्,‘त्यसरी लिन पाइन्दैन, निर्णय गरेको कुरा हो, सबैले मान्नुपर्छ ।’

उनले कसरी निर्णय विपरीत लिइयो यस विषयमा सत्यतथ्य बुझेर स्पष्टिकरण समेत लिइने बताइन् । ‘सेवाग्राहीसंग उहाँले कसरी, कुन परिस्थितीमा त्यसरी शुल्क लिनुभयो, त्यस विषयमा बुझ्ने छौं’ उनले भनिन् ‘डेङगु परिक्षणमा ६ सय रुपैयाँ लिने निर्णय जसरी पनि कार्यान्वयन गराउनुपर्छ यो उहाँहरुले पनि बुझने कुरा हो ।’