झापा : झापामा असाधारण वर्षा भएकाले झापाको मध्य भाग भएर बग्ने कन्काई तथा विरिङ नदीमा पानीको सतह निकै बढेर बाढी आइ क्षति पुर्याउने संभावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ ।

गत २४ घन्टामा झापामा मुसलधारे पानी परेका कारण नदीको पानी सतह बढेर खतराको संकेत पार गर्दै क्षति पुर्याउनसक्ने संभावना रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापाको दोमुखामा रहेको वर्षा मापन केन्द्रका अनुसार विगत २४ घन्टामा झापामा १४८. ६ मिलिमिटर वर्षा भएको छ ।

१४० मिलिमिटर वर्षा नाघेपछि खतराको संकेत पार गरेको मानिन्छ । जस्का कारण अहिले विपद सूचना केन्द्र झापामा साइरन बजिरहेको रेडक्रस झापा शाखाका बाढी पूर्व तयारी कार्यक्रमका संयोजक हरिशरण खड्काले बताए । खड्काले भने, ’यो अवस्था खतराको अवस्था हो। विशेषगरि कन्काई तथा विरिङ नदीमा ठूलो बाढी आउने संभावना छ ।’

सरकारले अहिले कन्काई तथा विरिङ नदी आसपास कसैलाई पनि नजान एसएमएस मार्फत सूचना जारी गरेको छ ।