धरान : खुलेआम कमिशन र घुस लिनेदिने काम भइरहेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त्यस्तो प्रवृत्ति अन्त्य गर्न कडा निर्देशन दिएका छन् ।

केही दिनअघि भोजपुरमा एक इञ्जिनियर घुससहित रंगेहात पक्राउ परेको घटना सार्वजनिक भएको र अन्य बिषयहरुमा पनि आफुलाई निरन्तर सुचना आइरहेको भन्दै मुख्यमन्त्री राईले घुस, कमिशन र सेटिङ अन्त्य गर्न कडा निर्देशन दिएका हुन् । उनले त्यस्तो काम कस्को आडमा भइरहेको छ ? भन्ने प्रश्न गर्दै आफुलाई जानकारी गराउन पनि सार्वजनिकरुपमा आह्वान गरेका छन् । मिडियाहरुलाईसमेत सहभागी गराइएको बैठकमा उनले भने,‘ त्यस्ता खालको सेटिंग, कमिशन खुलारुपमा लिनेदिने काम कस्को आडमा भइरहेको छ ?’
मुख्यमन्त्री राईले बैठकमा व्यक्त विचार तथा निर्देशनको सम्पादित अंश:

यो बैठक मुख्यमन्त्रीको निर्देशनमा अत्यन्त जरुरी भएर बोलाइएको हो । आमसञ्चारकर्मीहरुलाई पनि राख्नुपर्ने अवस्था आयो । मुख्यमन्त्रीले मिडियालाई पनि बैठकमा राखेर केही कुरा बोल्नुपर्ने भयो । भोजपुरमा इञ्जिनियर रंगे हात पक्राउ र्यो । त्यस्ता खालको सेटिंग, कमिशन खुलारुपमा लिनेदिने काम कस्को आडमा भइरहेको छ ?

मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालय ? सचिवालाय ? मन्त्रीहरु, प्रमुख सचिव वा सचिवालय वा अमुक व्यक्ति ? कहाँबाट ? कस्को आडमा त्यसप्रकारको कमिशन लिने, बोलकबोल गर्ने अनि घुस नांगोरुपमा लिने कसरी भइरहेको छ ?

हामी कुन मनस्थितिमा छौं ? हामी कहाँ छौं, के गर्दैछौं, के भइरहेको छ यो ?
मैले थुप्रै सुचनाहरु पाइरहेको छुँ । दिउँसै अड्डामा ठाटै घुस माग्ने, बजेट संकलन गर्ने र अमुक ठाउँमा पुर्याउने । अत्यन्तै लज्जास्पद, अत्यन्तै घृणित यस्तो खालको कुराहरु जब प्रदेश सरकारको नोटिसमा आउछन्, आइरहेको छ । केही सुचनाहरु मैले आफ्नो संयन्त्रबाट पाइराखेको छुँ । बेलैमा गम्भीर हुनुपर्छ, सचेत हुनुपर्छ । नत्र एक पछि अर्को गर्दै व्यक्ति सकिन्छ, कारबाहीमा पर्छ, छानबिनमा पर्छ । त्यसले सन्देश कस्तो जान्छ ? त्यसले दाग कसलाई लाग्छ ? हामी गम्भीर बन्नुपर्ने अवस्था आयो ।

त्यसैले मिडिया राखेर, आजको दिनमा आकस्मिक बैठक बोलाउनु पर्यो । कम्तीमा आजको दिनबाट त्यस्ता खालका कुराहरु नदोहोरियोस् । नयाँ नेपालको नागरिक र जिम्मेवार हुनुपर्छ । जनताको नजरमा, आजको समागमा असल जनप्रतिनिधि, असल राष्ट्रसेवककोरुपमा उभिन सकौं, जनताको अपेक्षा अनुसार उभिनुपर्छ । स्थापित हुनुपर्छ । सचेत भएर अघि बढ्न सकौं । नैतिक मुल्यको जगमा उभिएर काम गर्न सकौं ।
मेरो बारेमा कुनै पनि प्रकारको भ्रम नपार्न आग्रह गर्छु । म नाम लेखाउन मात्र मुख्यमन्त्री बन्न आएको होइन । सेटिङ मिलाउन आएको होइन । कमिशन, घुसको कुरा दिमागमा छैन । म स्वच्छ, सवल र समृद्ध प्रदेश निर्माण गर्न आएको हुँ । त्यो नैतिक मुल्यको जगमा उभिएर नेतृत्व गर्न चाहन्छु, र सबैको साथ त्यही जग, इमान, इच्छाशक्तिबाट चाहन्छु । मेरो दृष्टि, सबैलाई हेर्ने चस्मा एउटै हुन्छ । एउटा विचारबाट अएको छु, तर सबैलाई समानरुपमा हेर्नेछु । कुनै आग्रह, पुर्वाग्रहबाट, वहानाबाट मान्छेलाई हेर्ने, बुझ्ने काम मबाट र प्रदेश सरकारबाट हुदैन ।

ममाथि एउटा आरोप छ कि मुख्यमन्त्री स्लो भयो । मलाई राम्रो हेक्का छ, कतिखेर स्लो हुनुपर्ने, कतिबेला एग्रेसिभ हुनुपर्छ भन्ने । चुप लागेर बस्ने दिन अत्य हुदैछ, अब हाम्रो स्पिड शुरु हुदैछ । त्यसैले आग्रह गर्न खोजेको कुरा यो कहाँबाट, को बाट कस्को आडबाट भइरहेको छ ? मलाई सुचना दिनुपर्यो । मेरो फोन नम्बर र इमेल राख्नु पर्यो, र सुचना दिनुपर्यो । मेरो सचिवालयको कोही सदस्य हुनसक्छन्, मन्त्रीहरु हुनसक्दछ, प्रमुख सचिव, सचिव हुनसक्छ, वा राजनीतिक व्यक्ति हुनुसक्दछ । कस्को आडबाट भइरहेको छ ? त्यसको सुचना मलाई दिनुपर्छ ।

मेरो भरोसा, विश्वास, आड तपाईहरुमा छ । तर, जब शुरु भयो, नांगो रुपमा यो कहाँबाट शुरु भयो ? कसरी भयो ? थुप्र ैकमिशन, कलेक्सनहरु भएको छ भन्ने सुचना पाएको छुँ, ती पोकाहरु फुकाउनुछ, खोतलिनेछ । त्यसैले त्यो आड कहाँबाट भइरहेको छ । ? आफ्नै ज्ञान, बुद्धि, तागतले संघीयता कार्यान्वयन भइरहेको बेला, संघीय लोकतान्त्रिक गणतन्त्रको बेला स्वयम व्यक्तिमा हिम्मत, आँट पलायो होला अथवा विवेक तलमाथि भयो होला भन्ने मलाई त्यस्तो लाग्दैन । त्यसैले म त्यो सुचना प्राप्त गर्न चाहन्छु । सुचना भएको एक घण्टा भित्र फैसला हुन्छ । त्यो सबैको हकमा लागु हुन्छ, मेरो हकमा पनि, मन्त्रीहरुको हकमा पनि लागु हुन्छ, कसैको हकमा । म यो मामलामा कठोर बन्न चाहन्छु । त्यसैले बेलैमा तपाई हामी सचेत बनौं ।

जनताप्रति प्रतिवद्ध बनौं, नैतिकता र इमानको जगमा उभिएर काम गरौं । अत्यन्तै राम्रो अवसर पाएका छौं, यो अवसरमा चुक्यौ भने इतिहासमा हाम्रो हालत के हुन्छ ? आजको र पछिल्लो पुस्ताले के भन्छ ? यी प्रवृत्तिलाई पुरै निरुत्साहित बनौं, भएको सञ्जाल भत्काउ । स्वच्छ र खुशी प्रदेशको चाहना मुर्तरुप दिनको लागि सकेसम्म योगदान गरौं । सरकार स्पष्ट नीति, कार्यक्रम र बजेटको माध्यमबाट लक्ष्य स्पष्ट पारेका छौं । कुनै द्धिविधा, अलमल छैन । संघीयता कार्यन्वयनको महत्वपुर्ण चरणबाट अघि बढेका छौं । प्रदेश सरकार क्रमशः बलियो हुदै जान्छ ।