धरान: धरान १६ मा स्वर्गीय मेयर तारा सुब्बाको स्मृतिमा निर्माणाधिन पार्कको संरक्षणको लागि बनाइएको रिटेनिङ वाल सर्दु खोलामा आएको बाढीले भत्काएको छ ।

सोमबार बिहान बर्षासँगै आएको बाढीले पार्कको जग्गा संरक्षणको लागि निर्माण गरेको करिब १२ मिटर वाल भत्काएको हो । बाढीले वाल भत्किएपछि करिब ४ लाख बराबर क्षति भएको १६ नंम्बर वडा कार्यालय सदस्य दिपक आचार्यले बताए । ‘१२ मिटर जति बाढीले भत्काएको छ, ४ लाख जति क्षति भएको अनुमान छ,’उनले भने ।

park

बाढीले वाल भत्काएपनि पार्कको जमिन भने कटान भएको छैन । बाढी पुर्वतर्फ हान्निएर वालको मुनिबाट खोतलेपछि वाल भत्किएको हो । वाल उठाउदा सर्दु खोलाकै ढुंगा प्रयोग गरिएको र खोला गहिरिएकोले पनि क्षति पुगेको अनुमान छ । ‘मुनिबाट खोल्दै आयो, खोला पुर्वपटि आयो, खोलाको ढुंगा निकालिएकोले पनि गहिरिएको भन्ने छ,’वडा सदस्य आचार्यले भने ।

यो पार्क निर्माण ताका शुरुवातमा भुमी पार्क नाम राखिएको थियो । पछि, मेयर तारा सुब्बाको मृत्यु पछि कार्यपालिका बैठकले नाम परिवर्तन गरेर तारा सुब्बा स्मृति पार्क गरिएको हो । पार्कको जग्गा संरक्षणको लागि उपमहानगरपालिकाले ५० लाख बढी खर्च भएको थियो । यस्तै, गत आर्थिक बर्षमा प्रदेश सरकारबाट थप २५ लाखको काम भएको बताइएको छ । आगामी बर्ष उद्घाटन गर्ने लक्ष्य राखिएको थियो ।

तस्बिर स्रोत: दिपक घिमिरेको फेसबुक