ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “करोडौं अपचलन गरी सल्लेरीका अध्यक्ष सम्पर्कविहीन” शीर्षकको समाचार छापिएको छ । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकले संस्थाको पासबुक प्रयोग गरेर करोडौं अपचलन गरी दुई सातादेखि सम्पर्कविहीन बनेका छन् । विक असार २३ गतेदेखि परिवारसमेतको सम्पर्कभन्दा बाहिर रहेका छन् । संस्थाको पासबुक प्रयोग गरेर उनले आफैले धरान १२ मा सञ्चालन गर्दै आएको शिखर सुन–चाँदी पसलमा बचत गरिएको रकम संस्थामा जम्मा नगरी सुन पसलको खातामा जम्मा गर्ने गरेको फेला परेको हो । बचतकर्ताले ८० हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म बचत गर्ने गरेको पाइएको छ । संस्थाका अध्यक्ष विक एकाएक हराएपछि बचतकर्ताहरुले सञचालक समितिलाई दबाब दिएका छन् । सञ्चालक समितिले धरान उपमहानगरपालिका अन्तर्गतको सहकारी विकास समितिलाई अध्यक्ष विकले हरहिसाबन देखाएकाले हिसाबकिताब गरिदिन भन्दै निवेदन दिएको समितिका संयोजक एवम् धरान १५ नम्बर वडाका वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।

औजार : आजको औजार दैनिकमा “किसानलाई पीडैपीडा मलदेखी मजदुरसम्म अभाव” शीर्षकको समाचार छापिएको छ । सुनसरीका किसानहरुलाई धान रोप्नका लागि समस्या भएको छ । मल र मजदुरको अभावका कारणले किसानलाई पीडैपीडा रहेको उनीहरुले गुनासो गरेका छन् । गाउँमा धान खेतीका लागि जोत्ने उपकरण, हाल मलदेखी मजदुरसम्म अभाव भएकाले रोपाईमा समस्या भएको इनरुवा ९ बबियाका किसान शिवनारायण यादवले गुनासो गरे । उनले जिल्लामा धान रोप्नका लागि सुरुमा पर्याप्त वर्षा नभएको र पछि बाढी आउने गरी पानी परेको र त्यसपछि पानी रहेकाले रोपाई पर्ने बेलामा बजारमा मल, रोप्ने जनमजदुरको अभाव भएकाले किसानहरु मर्कामा परेको गुनासो गरे । केही ठाउँमा नहर भएपनि पानी नदिएको र धेरैठाउँमा आकाशे पानीको भरमा रोपाइ गर्ने गाउँपालिका किसानलाई यो वर्ष धान रोप्न समस्या भएको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अवैध गर्भपतन आरोपमा चिकित्सक पक्राउ” शीर्षकको समाचार छापिएको छ । अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन् । डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको छ । आइतबार नै उनलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । गत असार १८ गते जाँचका लागि मिर्चैया नर्सिङ होम पुगेकी सिरहा नगरपालिका १० गुलरियाकी एक महिलासँग १२ हजार रुपैयाँ लिएर २घ गते लिंग परीक्षणपछि गर्भपतन गराएको आरोप यादवमाथि छ । गर्भपतनपछि महिलाको रक्तश्राव नरोकिएपछि घटना बाहिर आएको थियो । तयसपछि प्रहरीले घटना अनुसन्धानका लागि डा. यादवलाई नियन्त्रणमा लिएको हो ।