पथरी: पुर्वी मोरङ्गको खोलाहरुमा केज प्रविधिबाट माछा पालन गरे मनग्गे आम्दानी हुने एक अध्ययनले देखाएको छ ।

पुर्वी मोरङ्का बक्राहा, सुन्झोडा, मोरङ्गी र डाँस खोलामा केज प्रविधिबाट माछा पालन गरे स्थानिय माछाको संरक्षण पनि हुने र माछा उत्पादन पनि बृद्धि हुने अनुसन्धानकर्ताले वताएका हुन् । पथरीशनिश्चरेको जैविक विविधता अध्यायन गरेका शैलुङ्ग ग्रिन सोसाइटीले खोलामै जाल लगाएर माछा पालन गर्दा उत्पादन राम्रो हुने वताएको हो । अनुसन्धानकर्ता मध्येका विवेक गौतमका अनुसार पथरीशनिश्चरे क्षेत्रमा उन्नत जातका माछा मात्रै पालन भइरहेकाले स्थानिय जातका माछा संरक्षण गर्न पनि यो पद्दतीको प्रयोग आवश्यक छ ।

पथरीशनिश्चरे र आसपासका क्षेत्रमा पङ्गास, ग्रासकर्प, कमनकर्प जातका माछा व्यावसायीक रुपमा उत्पादन भइरहेको छ । माछाको वजार राम्रो रहेकाले पनि माछा पालन गर्ने किसानको संख्या वढिरहेको छ । पथरीशनिश्चरे क्षेत्रमा मात्रै दैनिक २० केजी माथीको माछाको माग रहेको छ । गौतमले भने,‘उत्पादन कम हुने सोच यहाँका स्थानीयबासीमा भएकोले खोलामा जाल लगाएर माछापालन गर्ने कार्य नै भएको छैन, तर यो कार्य गरे माछाको उत्पादन पनि बढ्छ । स्थानीय माछाको संरक्षण पनि हुन्छ ।’ खोला क्षेत्रमै भएका लेउ झ्याउ खाएर पनि माछा हुर्किन सक्ने उनीहरुको भनाइ छ ।

DSC_0074

खोला तथा तालमा वाउण्ड्री लगाएर माछापालन गर्ने पद्दती कास्कीमा भएपनि मोरङ्गमा यसबारे अवधारणा नै बढेको छैन । मोरङ्गका ठुला खोला भनिएका वक्राहा, लोन्द्राहा, बुढी सुन्झोडामा यो पद्दती अपनाउन सकिने अनुसन्धानकर्ताको भनाइ छ । पछिल्लो समय विष लगाएर र करेन्ट लगाएर खोला क्षेत्रमा माछा मार्न थालिएपछि स्थानिय जातका माछा संकटमा पर्दै आएका छन् । पथरीशनिश्चरे नगरक्षेत्रमा रहेका खोलावाट विषादी लगाएर र करेन्ट लगाएर माछा मार्दा साना तथा भुरा माछा पनि नष्ट भइरहेको उनीहरुको भनाइ छ ।

पुर्वी मोरङ्गका खोलाहरुमा यस किसीमको प्रविधीवाट माछा पालन गर्न सकियो भने माछाको संख्या वृद्धि हुने मात्र होइन,स्थानियवासीको आयआर्जन र रोजगारीमा पनि वृद्धि हुने उनीहरुको ठहर छ ।

तस्विर सौजन्य: विवेक गौतम

DSC_0093 DSC_0418