धरान : बर्खायाम भएकोले राती, बिहान र बेला बेला दिउँसो पनि निरन्तर बर्षा भइरहेको छ । गर्मी विदा भएकोले स्कुले बच्चाहरु विद्यालय जानु भने पर्दैन । तर, हिजोआज बिहानै ६ बजे एक हुल विद्यार्थीहरु धरान १ स्थित रंगशालामा पुग्छन् । अनि, केही बेरमा उनीहरु फुटबलसँग खेलिरहेका हुन्छन् ।

धरानलाई फुटबलको मिनि ब्राजिल भनिन्छ । यही मिनि ब्राजिलमा भविष्यका मेस्सी, रोनाल्डोजस्ता युवा फुटबलर उत्पादन गर्ने पनि उद्देश्यले सोमबारदेखि फुटबल प्रशिक्षण शुरु भएको हो । उनीहरुलाई यो अवसर धरान फुटबल फ्यान क्लबले जुटाइदिएको हो । सोमबार शुरु भएको प्रशिक्षण साउन १६ गतेसम्म नियमित हुनेछ । करिब डेढ सय विद्यार्थीहरु प्रशिक्षणमा सहभागी छन् । गर्मी विदाको सदुपयोग गर्ने र फुटबलप्रति विद्यार्थीहरुलाई आकर्षित गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको क्लबले जनाएको छ । उक्त प्रशिक्षणको एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किसोर राईले उद्घाटन गरेका थिए ।

IMG_20190722_091143

उपाध्यक्ष राईले समर क्याम्पले व्यवसायिक र क्षमतावान खेलाडी उत्पादन गर्ने एन्फाको लक्ष्यमा थप मद्दत पुग्ने बताए । उनले खेलाडीहरुलाई पनि रोजगारमुखी र भविष्य सुनिश्चित गर्नुपर्ने धारणा राख्दै गाउँ, नगरमा फुटबल खेलेरै बाँच्ने अवस्था सृर्जना गर्नुपर्ने पनि बताए । ‘समर क्याम्पले विद्यार्थीहरु फुटबलसँग जोडिन्छन्, र उत्कृष्ट खेलाडीहरु पनि पहिचान हुन्छ,’उनले भने । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले मिनि ब्राजिलको पहिचान बोकेको धरानलाई यो प्रशिक्षणले थप योगदान पुग्ने बताए ।

रियो समर फुटबल क्याम्प गत बर्षदेखि धरानमा आयोजना शुरु भएको हो । आयोजक क्बलका अनुसार गत बर्ष ३ सय ७५ जना विद्यार्थीहरु सहभागी थिए । अत्यधिक संख्यामा सहभागी हुदा व्यवस्थापनमा समस्या भएकोले यो बर्ष मात्र डेढ सय विद्यार्थीहरुलाई क्याम्पमा राखिएको अध्यक्ष अशोक राईले बताए । प्रशिक्षणमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु सहभागी छन् । प्रशिक्षण बिहान ६ बजेदेखि ८ बजेसम्म हुनेछ । उनीहरुलाई ए.एफ.सि. लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण दिने महासचिव रामकृष्ण खड्काले जानकारी दिए । उनका अनुसार सुवास केसी, राजन मगर, भगवती राना, हेम गुरुङ, सुरज विक, विनय श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । प्रशिक्षणलाई धरान उपमहानगरपालिकाले संयोजन गरेको छ भने रियो जुसले मुख्य प्रायोजन गरेको क्लबले जनाएको छ ।

IMG_9987 IMG_0044 IMG_9993 IMG_9996