धरान: सामान्य विवादमा कोखामा छुरा प्रहार गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ ।

आज बिहान धरान ६ का ३३ बर्षीय काजीमान तामाङलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनलाई छुरा प्रहार गर्ने धरान ६ का २० बर्षीय बसन्त लिम्बु र डेरा गरी बस्नेत १९ बर्षीय हाङकोप राईलाई प्रहरीले सार्वजनिक गरेको हो । घटना लगत्तै पक्राउ परेका दुवैलाई छुरासहित इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको हो । घाइते काजिमानले चलाएको गाडीले सडकमा हिलो छ्यापि दिएको बिषयमा छुरा प्रहार भएको प्रहरीको भनाई छ । यसअघि, १ नम्बर प्रदेश प्रहरी कार्यालयले भने खानेपानी छ्यापेको निहुमा छुरा प्रहार गरेको जानकारी दिएको थियो ।

दुवै जना काजिमानको घरमा गएर विवाद गरेको र बसन्तले काजिमानको कोखामा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । काजीमान गम्भीर घाइते भएका छन् । उनको विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनालगत्तै भाग्दै गरेका बसन्त लिम्बु र हाङकोप राईलाई प्रहरीले छुरासहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।