धरान: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले धरानका स्वर्गीय मेयर तारा सुब्बालाई सजिलोमा मात्र नभै अफ्ठेरोमा पनि चम्किरहने तारा भएको बताए ।

स्वर्गीय मेयर तारा सुब्बाको स्मृति ग्रन्थको आज धरानमा लोकार्पण गर्दै मन्त्री पोखरेलले मेयर सुब्बा जनताको सच्चा नेता भएको पनि धारणा राखे । धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा बोल्दै उनले मेयर सुब्बा सजिलोमा मात्र नभै प्रतिकुल अवस्थामा पनि चम्किन सक्ने क्षमता भएको व्यक्तिकोरुपमा आफुले पाएको बताए । ‘पार्टी विभाजित हुदा पनि तारा जी विभाजित हुनुभएन । राजनीति गर्नेहरु, नेतृत्वमा रहनेहरु पनि बाटो विराउने छौं, तर तारा जी जुन बाटो समात्नु भयो, त्यो बाटोमा कहिल्यै विराउनु भएन,’पोखरेलले भने ।

IMG_0122

तत्कालिन एमाले पार्टीमा चरम गुटबन्दी हुदा तारा सुब्बा पनि कुनै कित्तामा उभिए पनि उनले अर्काे कित्तामा उभिएकाहरुप्रति असन्तुलित र असहिष्णु नबनेको मन्त्री पोखरेलको भनाई थियो । स्वर्गीय मेयर सुब्बा जनताको सच्चा नेता र प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पोखरेलले मरेर गएपनि उनका विचार, व्यवहार र कामहरुले जनतामाझ सधै बाँचिरहने बताए । साथै, स्वर्गीय मेयर सुब्बाले देखेको सपनालाई बाँच्नेहरुले आँखामा राखेर परा गर्नुपर्ने बताए । ‘मरेर जानेहरूले देखेको सपनालाई बाँच्नेहरूले आँखामा साँचिरहनुपर्छ,पुरा गर्नुपर्छ,’उनले भने ।

अव सरकारले गति लिन्छ: पोखरेल

iswor-pokhrel

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अब सरकारले गति लिने बताएका छन् । नेपालमा सरकार मात्र परिवर्तन नभइ प्रणालीनै परिवर्तन भएको बताउदै उनले नयाँ प्रणाली अनुकुलका कानुन, संरचना र नीति निर्माण गर्न समय खर्चिनु परेकोले जनतामा सेवा प्रवाह प्रभावकारी नभएको स्वीकार गरे । ‘एक बर्षको अवधिमा कानुन, संरचना र नीतिहरु निर्माण भएर आधारस्तम्भ तयार भएको छ,’पोखरेलले भने,‘अव सरकारले गति लिन्छ ।’

पार्टीको घोषणापत्र तथा सरकारको नीति र कार्यक्रम अनुरुप सरकारले विकास र सम्वृद्धिमा फडको मार्नेमा ढुक्क हुन उनले आग्रह गरे । कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्याहाडले तारा सुब्बा विद्यार्थीसमयदेखिनै असल ब्यक्तित्व रहेको वताए । कार्यक्रममा मुख्यमन्त्री शेरधन राई,सभामुख प्रदीप भण्डारी, संघीय सांसद जयकुमार राई, इलाम नगरका प्रमुख महेश बस्नेत, नेकपा जिल्ला सचिव रमेश बस्नेत,कांग्रेस नगर सभापति तिलक राईलगायतले पनि मेयर सुब्बाको बारेमा चर्चा गरेका थिए ।