ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “हनी ट्रयापिङ मा व्यवसायी” शीर्षकको समाचार छापिएको छ । युवतीको माध्यम “हनी ट्रयापिङ” बाट व्यवसायीलाई बन्धक बनाउँदै ४० लाख रुपैयाँ असुल गर्न खोज्ने गिरोहका ४ जनालाई प्रहरी पक्राउ गरेको छ । विर्तामोडका एकजना व्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित ४ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । युवती प्रयोग गरेर अपहरण तथा फिरौती लिनुलाई हनी ट्रयापिङ भनिन्छ । यसरी गरीयो अपहरण असार अन्तिम साता विर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट एक युवतीको फोन आयो । दुवैबीच परिचय भयो । युवतीको मीठो स्वरले व्यवसायी प्रभावित भए । व्यवसायीले त्यसपछि लगातार युवतीलाई फोन गर्न थाले । उनीहरुको इमो र भाइबरमा माया, प्रेम हुदै सेक्ससम्मका कुरा हुन थाले । साउन १ गते युवतीले आफु विर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई फोन गरिन् । हेर्दा जवान, सुन्दर युवतीले भेट्न बोलाएपछि व्यवसायी उनले बताएको स्थानमा गए । भेट भयो । फोनमा उनीहरुबीच अश्लील कुराकानी भइसकेको थियो । ढिलो नगरी ती व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे । सुरक्षा नहुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन् । उनले भद्रपुर रोडमा साथीको कोठा भएको हुनाले त्यसतर्फ जाने प्रस्ताव राखिन् । व्यवसायीले पनि त्यो प्रस्ताव उपयुक्त ठाने र कोठा जान राजी भए ।

औजार : आजको औजार दैनिकमा “खोलाले सय हेक्टरको धानबालीमा क्षति” शीर्षकको समाचार छापिएको छ । सुनसरी खोलाको बाढी प्रभावित क्षेत्रमा एक सय बढी हेक्टरको धानबालीमा क्षति भएको छ । जिल्लाको मध्य भागबाट बग्ने सुनसरी खोलाको असार अन्तिम साताको बाढीले सयौं हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको हो । करिब एक हप्तासम्म बाढीको पानी धान रोपेको खेतबाटै बगेकाले गलेर धानबाली नष्ट भएको इनरुवा ९ का किसान वुद्धीलाल मेहताले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “ग्रामीण सडक अवरुद्ध” शीर्षकको समाचार छापिएको छ । निरन्तरको वर्षा र पहिरोले ताप्लेजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । नयाँ ट्रयाक खोलिएका सडकहरु हिलाम्मे भएर तथा पहरो झरेर बाटो छेकिएपछि ग्रामीणबस्ती छिर्ने सडकमा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ र विभिन्न गाउँपालिकाका केन्द्रबीचको सोझो यातायात सम्पर्कविच्छेद भएको छ ।