काठमाडौं : बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

महाशाखाले मंगलबार मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको हो ।

यस्तै, देशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाकाअनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

यस्तै, बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भू–भागमा पहिरो जानसक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ ।

वर्षाका कारण हवाई तथा सडक यातायातमासमेत प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।