धरान: मध्यराती धरानमा मादक पदार्थ सेवन गरेर हिडिरहेका ७ जना युवाहरु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले रात्री गस्तीको क्रममा विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको जनाएको छ । राती १२, १ बजे विना काममा मापसे सेवन गरेर हिडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘विना काममा राती १२, १ बजे मापसे सेवन गरेर हिडिरहेकाहरु समातिएका हुन्,’डिएसपी न्यौपानेले भने,‘कहाँ हिडेको भन्दा उचित जवाफ पनि दिन सक्दैनन्, विश्वास गर्नै नसकिने वहाना बनाउछन् ।’

रातमा हुने अपराध, चोरीका घटनाहरु हुन नदिनको लागि कडाई गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई कार्यालयमा ल्याएर पुरानो रेकर्ड भए नभएको हेर्ने र भोलीपल्ट अभिभावकको जिम्मा लगाउने डिएसपी न्यौपानेले बताए । ‘यो निरन्तर चलिरहेको छ, कहिले कही त २०, २५ जना पनि पक्राउ पर्छन्,’डिएसपी न्यौपानेले भने,‘रेकर्ड हेर्दा पुरानो केसमा संलग्न छैन भने अभिभावकको जिम्मा लगाएर छोड्छौं ।’

राती विना काम मापसे सेवा गरेर हिड्नेहरु अधिकांश १७, १८ बर्षका किसोरहरुदेखि २५ बर्षका युवाहरु अधिक भएको प्रहरीले जनाएको छ । यही उमेरका युवाहरु धरानमा विभिन्न अपराधिक गतिविधिमा संलग्न छन् । प्रहरीका अनुसार ती युवाहरु कतिपय मादक पदार्थ मात्र सेवन गरेका हुन्छन् भने कति लागुऔषधका अम्मली पनि भएको प्रहरीको भनाई छ ।

तस्बिर: इलाका प्रहरी कार्यालय परिसर/फाइल फोटो