सुनसरी: ईटहरी उपमहानगरपालिका २ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका २ का ४८ बर्षीय डोमी चौधरी, वर्ष ४५ को झलक बहादुर कार्की, वर्ष ३७ को अनिल तामाङ, वर्ष ५८ को गोपाल निरौला, वडा ४ का वर्ष ३६ को बिदुर मिश्र र वडा ५ का २६ बर्षीय मुकुन्द काफ्ले रहेका छन् ।

प्रहरीले तास खेलेको ठाउबाट ३५ हजार ८ सय ८० नगद, क्याल्कुलेटर, तास १६२ पत्ती बरामद गरेको जनाएको छ । पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।