धरान: निरन्तरको बर्षासँगै आएको पहिरोले उदयपुरको दुई गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको छ । बाटा अवरुद्ध हुँदा ती गाउँपालिकामा खाद्यान्न अभावले सर्वसाधारणहरु भोकभोकै बस्न बाध्य छन् ।

उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा पुग्ने बाटो अवरुद्ध भएपछि खाद्यान्न अभाव भएको हो । जिल्ला विपद व्यवस्थापन समितिले उदयपुरले मंगलबार ती गाउँपालिकामा पुग्ने बाटो अवरुद्ध भएको र तत्काल खुलाउन सम्भव नभएकोले हेलिकप्टरमार्फत खाद्यान्न उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेको थियो । दुवै गाउँपालिकाका बासिन्दा भोकभोकै बस्न बाध्य भएको पनि बताइएको छ । गाउँपालिकाको आग्रह पश्चात बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद ब्यवस्थापन कार्यकारी समितिको बैठकले ती गाउँपालिकालाई खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले दुवै गाउँपालिकालाई ७ दिनलाई पुग्ने गरी ७ सय क्विन्टल चामल, दाल, नुन र खानेतेल हेलिकप्टरमार्फत पठाउने निर्णय गरेको छ । साथै, ती दुवै गाउँपालिका पुग्ने अवरुद्ध बाटो खुलाउन भौतिक पुर्वाधार विकास मन्त्रालयले संघीय निकायसँग समन्वय गरी तत्काल कार्य अघि बढाउने पनि निर्णय गरेको छ । खाद्यान्न व्यवस्थापनको लागि नेपाल खाद्य संस्थानलाई रकम भुक्तानी गर्ने गरी आग्रह गर्ने र विश्व खाद्य कार्यक्रम नेपाल शाखा र उद्योग वाणिज्य क्षेत्र, अन्य संस्थालाई पनि खाद्यान्न सहयोगको लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

२९ जनाको मृत्यु ८ वेपत्ता

निरन्तरको बर्षासँगै आएको बाढी र पहिरोले प्रदेश नं १ मा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने ८ जना वेपत्ता भएका छन् । यस्तै, २१ जना घाइते भएको आधिकारिक तथ्यांक छ । बुधाबारको बैठकले मृतकहरुको आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । साथै, वेपत्ता व्यक्तिहरुको उद्दार र खोज कार्यलाई तादरुकताका साथ अघि बढाउने, विस्थापित परिवारहरुलाई राहत र पुर्नस्थापनाको कार्यलाई प्रभावकारीढंगले अघि बढाउने पनि निर्णय गरेको छ ।

meetingss