ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तेल बोक्ने ट्याङ्करमा लागूऔषध” शीर्षकको समाचार छापिएको छ । भारतबाट तेल बोकेर आएको ट्याङ्करमा अवैध लागूऔषध भित्र्याउने गरेको पाइएको छ । मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगर ४ पीपलचौकअगाडि रोकेको ट्याङ्करबाट अवैध लागूऔषध फेला पारेपछि यस्तो खुलासा भएको हो । ना ४ ख ६६५० नम्बरको ट्याङ्करमा लागूऔषधसहित सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “७७ वर्षमा सम्बन्धविच्छेद” शीर्षकको अर्को समाचार पनि छापिएको छ । श्रीमान् र श्रीमतीबीचको सम्बन्ध विग्रिएको लामो समयपछि धनकुटाको एक राई दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका ३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० बर्मेश्वरी राईको सोमबार सम्बन्ध विच्छेद भएको हो । उनीहरुको विहे २०३४ सालमा भएको थियो । विवाह भएको ४२ वर्षपछि राई दम्पतिले सम्बन्धविच्छेद गरेका हुन् । बर्मेश्वरीले २ छोरीको लालन पालनमा श्रीमान् बर्मध्वजले सहयोग नगरेकोले विगत ३० वर्षदेखि आफू छुट्टै बस्दै आएको अदालतमा बयान दिएकी थिइन् । राई दम्पतिका विवाह भएर ज्वाइँको घर गईसकेको ४२ र ३८ वर्षीया २ छोरी पनि सोमबार अदालतमा उपस्थित थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “वीपी प्रतिष्ठानको फार्मेसीमा औषधी नहुँदा विरामीलाई सास्ती” शीर्षकको समाचार छापिएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको औषधी पसलमा सबै खाले रोगका औषधी नपाउँदा विरामी महङ्गो मूल्यमा निजी औषधी पसलबाट औषधी खरिद गर्न बाध्य छन् । निजी फार्मेसीसँग कमिसन लिएर प्रतिष्ठानको फार्मेसीमा औषधी नभएको बताउने गरिएको छ । प्रतिष्ठानका मेडिकल स्टोरमा पाइने औषधी फार्मेसीमा पाइदैन । सामान्य क्यानोला समेत बाहिरका फार्मेसीबाट खरिद गर्नुपर्ने बाध्यता रहेको छ । सरकारी अस्पतालले आफैंले फार्मेसी सत्तचालन गर्नुपर्ने भनी सरकारले केही वर्षअघि नै निर्णय गरेपनि प्रतिष्ठानमा भने गत वर्षदेखि मात्रै फार्मेसी सञ्चालन भएको थियो । आकस्मिक कक्ष, गाइनोलोजी र ओपीडि क्षेत्रमा सञ्चालन गरेको फर्मेसीमा अझै पर्याप्त मात्रामा औषधी उपलब्ध छैन ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “समाजवादी–राजपा एकता नजिक” शीर्षकको समाचार छापिएको छ । समाजवादी पार्टी केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकताको लागि भइरहेको छलफलले सकारात्मक दिशा लिएको र केही दिनभित्रै टुंग्याउने संकेत गरेका छन् । बुधबार जनकपुरमा आयोजित समाजवादी पार्टी मधेस प्रदेश समितिको प्रादेशिक समायोजना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, “संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता सम्पन्न भयो।, पार्टी विस्तारको यो सुरुवात हो । अनय धेरै दलसँग पनि सकारात्मक छलफल चलिरहेको छ ।