धरान(डेस्क): निरन्तरको बर्षाले पहिरो गएर बाटोसमेत अवरुद्ध भएपछि खाद्यान्न अभावले भोकभोकै बस्नु परेको उदयपुरको दुई गाउँपालिकामा आज प्रदेश १ सरकारले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरेर पुर्याएको छ ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा पहिरोले बाटो अवरुद्ध भएपछि दुवै गाउँमा खाद्यान्न पुग्न नसकेर केही दिनयता गाउँका बासिन्दाहरु भोकभोकै बस्नुपर्ने अवस्था थियो । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरले मंगलबार हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउन आग्रह गरेपछि बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले हेलिकप्टरमार्फत ७ सय क्विन्टल खाद्यान्न पुर्याउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले आज नै हेलिमार्पmत खाद्यान्न ढुवानी गरेर ती गाउँपालिकामा पुर्याएको हो ।

udaypur2

प्रदेश सरकारले बिहीबार काठमाडौबाट नेपाली सेनाको हेलिकोप्ट व्यवस्थापन गरेर ढुवानी गरेको हो । विराटनगर विमानस्थलबाट हेलिकप्टरमार्फत खाद्यान्न सरकारले पाएको थियो । दुवै गाउँपालिकाका करिब ३० हजार जनता खाद्यान्न ढुवानी हुने बाटो अवरुद्ध भएर विचल्ली अवस्थामा छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हेलिकप्टरमार्फत ८ हजार १ सय किलो चालम, १ हजार ९ सय ९५ किलो दाल, ५ सय किलो नुन र ५ सय लिटर खानेतेल ढुवानी गरिएको जानकारी दिए । विकट पहाडी ठाउँ भएकोले तत्काल राहत स्वरुप खाद्यान्न पठाइएको मन्त्री कार्कीले बताए ।

udaypur1

बुधबारको प्रदेश विपद समितिको बैठकले दुवै गाउँपालिकालाई ७ दिनलाई पुग्ने गरी ७ सय क्विन्टल चामल, दाल, नुन र खानेतेल हेलिकप्टरमार्फत पठाउने निर्णय गरेको थियो । साथै, ती दुवै गाउँपालिका पुग्ने अवरुद्ध बाटो खुलाउन भौतिक पुर्वाधार विकास मन्त्रालयले संघीय निकायसँग समन्वय गरी तत्काल कार्य अघि बढाउने पनि निर्णय गरेको थियो । खाद्यान्न व्यवस्थापनको लागि नेपाल खाद्य संस्थानलाई रकम भुक्तानी गर्ने गरी आग्रह गर्ने र विश्व खाद्य कार्यक्रम नेपाल शाखा र उद्योग वाणिज्य क्षेत्र, अन्य संस्थालाई पनि खाद्यान्न सहयोगको लागि आग्रह गर्ने समेत सो बैठकको निर्णय छ । तस्बिर स्रोत: फेसबुक