ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विप्लवका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ” शीर्षकको समाचार छापिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दिपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उहाँलाई पक्राउ गरिएको उपरीक्षक अधिकारीले जानकारी दिए । बम विस्फोट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भैरहको प्रहरीको भनाइ छ । मोरङ र धनकुटाबाहेक अन्य जिल्लामा विप्लव समूहले गरेको घटनामा राईको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

औजार : आजको औजार दैनिकमा “सरुवा सिफारिसको घुसको प्रलोभन” शीर्षकको समाचार छापिएको छ । समाजमा शिक्षक भन्ने वित्तिकै अनुशासित, शिक्षित र अरुलाई राम्रो मार्ग दर्शन गर्ने बुझिन्छ तर त्यही मध्ये केही शिक्षक आफ्नो पदीय मर्यादा र जिम्मेवार भन्दा बाहिर गएर काम गरेपछि आलोचना समेत हुन्छ र हुनुपर्छ पनि । यो भन्दा फरक शैलीमा सुनसरी जिल्लाको कोशी गाउँपालिका २ मा रहेको कोशी माविमा कार्यरत रहेका शिक्षक कैलाश झाले कक्षामा पढाउने त कता कता विद्यालय समयमा नगई कार्वाहीमा परेको मौकामा अर्को विद्यालयमा आफ्नो सरुवा सिफारिसका लागि एक विद्यालय व्यवस्थापन समितिलाई घुसको प्रलोभन दिएको खुलेको छ । शिक्षक झा आफु विद्यालयमा समयमा नगई उल्टै ठुलो कुरा गरेकाले एक महिनासम्म कोशी गाउँपालिकामा दादागिरी शैलीमा बसेको र बर्खे विदाको मौकामा केही विद्यालयमा सरुवाका लागि सहमती दिन भन्दै समिति र केही पार्टीका कार्यकर्तालाई घुसको प्रलोभन दिएको खुलासा भएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मेयर र उपमेयरबीच जुहारी” शीर्षकको समाचार छापिएको छ । स्थानीय तहको चुनाव भएको २ वर्ष भएको छ । निर्वाचित भएको वर्षदिनसम्म स्थानीय तहका जनप्रतिनिधिले उत्साहका साथ काम गरेपनि एक वर्षपछि भने मेयर र उपमेयरबीच नै विवाद देखिन थालेका छन् । मोरङका केही स्थानीय तहमा पछिल्लो समय जनप्रतिनिधिबीच नै जुहारी चल्न थालेको छ । मोरङका लेटाङ, सुन्दरहरैचा तथा उर्लाबारी नगरपालिकामा पछिल्लो समय मेयर र उपमेयरबीच नै जुहारी चलिरहेको छ । फरक फरक पार्टीबाट चुनाव जितेर छानिएका प्रतिनिधिबीच उच्च विवाद देखिएको छ । सुन्दरहरैंचामा नेपाली कांग्रेसबाट मेयर पदमा शिव ढकाल र उप मेयरमा तत्कालीन एमालेकी धना तामाङले चुनाव जिते । निर्वाचित भएपछि मेयर र उपमेयर नै पटक पटक विवादमा तानिएका छन् । केहीदिन अघि सकिएको नगरसभामा नेकपाका जनप्रतिनिधिले विभिन्न मागर राख्दै नगरसभा नै बहिष्कार गरेर हिडेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मुख्यमन्त्री कप फुटबलः लेखा समितिले थाल्यो छानविन” शीर्षकको समाचार छापिएको छ । असार अन्तिम साता सम्पन्न प्रदेश १ स्तरीय मुख्यमन्त्री लिग कप फुटबल प्रतियोगितामा अनियमितता आशंकामा छानविन शुरु भएको छ । प्रदेश सरकार र अखिल नेपाल फुटबलसंघ –एन्फा) ले मध्यबर्खा र आर्थिक वर्षको अन्त्यमा आयोजना गरिएको प्रदेशस्तरिय लिग फुटबल प्रतियोगितामा अनियमितताको आशंकामा प्रदेश सार्वजनिक लेखा समितिले छानविन थालेको छ । प्रतियोगिता असार १६ देखि ३० गतेसम्म गाईघाट, धरान र इलाममा भएको थियो । प्रतियोगिताको अन्तिम चरणकोे खेल र फाइनल खेल विराटनगरम ागर्ने भनिए पनि मैदानमा पानी जमेका कारण देखाउँदै आयोजकले अन्तिम समयमा धरान खेल सारेको थियो । विराटनगरमा अन्तिम चरणका खेल गर्ने भनिएपनि मैदानमा पानी जमेका कारण तयारी खासै गरिएको थिएन ।