झापा : असार तेस्रो साता सम्म परेको खडेरी लगत्तै भिषण बर्षाका कारण झापामा यस बर्ष धान रोपाई ढिलो भएको छ ।

साउन महिनाको पहिलो सातासम्म ६५ प्रतिशत धान खेती भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पानीका कारण कतिपय क्षेत्रमा अझैसम्म रोपाईं गर्न सकिएको छैन । जिल्लाको गौरिगञ्ज, कचनकवल, झापा गाउँपालिका, बाह्रदशी क्षेत्रमा बढी जलमग्न हुने गरेकाले ढिलो रोपाईका लागि खसिया विऊ रोपाई गरिंदैछ । व्याड राख्ने समयमा खडेरी परेर समयमा विऊ राख्न नपाएकोले यस बर्ष धान खेती ढिलो भएको गौरीगञ्ज १ महाभाराका अगुवा कृषक मनोरथ भट्टराईले बताए ।

रोपाई ढिलो भए पछि उत्पादनमा ह्रास आउने हो की भन्ने चिन्ता समेत किसानलाई रहेको छ । झापामा कुल ९० हजार हेक्टर जमिन धान खेती योग्य रहेको छ । यस मध्ये गत बर्ष ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती गरिएको थियो । जम्मा ४० हजार हेक्टरमा मात्र सिँचाईको सुविधा पुगेको छ भने ५० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।